१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दोहनी सिँचाइ योजना सञ्चालनमा

सुक्खायाममा पनि ७ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ

कपिलवस्तु — कपिलवस्तुको दोहनी सिँचाइ योजना सञ्चालनमा आएको छ । जमुहार नालाबाट नहरमा पानी ल्याएर कपिलवस्तु नगरपालिका– ७ र ८ मा सिँचाइ सुविधा पुर्‍याइएको हो । अब सुक्खायाममा पनि ७ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । योजनाको पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले शुक्रबार उद्घाटन गरे हुन् ।

‘कतैबाट पनि सिँचाइको व्यवस्था थिएन,’ कृषक देवेन्द्र पाण्डेले भने, ‘आकाशेपानीको भर पर्नुपर्थ्यो । पानी परे खेती गर्थ्यौं, नभए त्यसै बस्थ्यौं ।’ धान लगाएर स्याहार्दासम्म जहिल्यै पानीको समस्या हुने ठाउँमा अब १२ महिना नै सिँचाइ हुने भएपछि निकै खुसी भएको उनले बताए । अब धानपछि गहुँ, तोरी, आलस पनि लगाउने उनले सुनाए ।

०७४ सालबाट निर्माण सुरु भएको योजनाका सबै काम सम्पन्न भएर सफल परीक्षणपछि शुभारम्भ गरिएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख पुरुषोत्तम उपाध्यायले बताए । ७ करोड २० लाख रुपैयाँ लागतमा बाबुल राजन जेभी निर्माण सेवा रूपन्देहीले योजना सम्पन्न गरेको हो । योजनाअन्तर्गत ४.४ किमि नहर निर्माण गरी कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराइएको उनले बताए । कृष्णनगर–८ का वडाध्यक्ष शिवकुमार पाण्डेयले यस भेगका कृषकको वर्षौंदेखिको सपना बल्ल पूरा भएको बताए । ‘सिंचाइ अभावले कृषक बर्सेनि समस्या भोग्दै आएका थिए,’ उनले भने, ‘योजना सञ्चालनपछि जीवनयापन सहज हुने विश्वास छ ।’

प्रकाशित : असार १९, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?