खाली जग्गामा जडीबुटी रोपिँदै

प्राविधिकको प्रत्यक्ष निगरानीमा १ लाख बिरूवा रोप्ने अभियान
माधव अर्याल

पाल्पा — खेती गर्न छाडेकाले पाल्पामा प्रशस्त जग्गा जमिन बाँझो बन्दै गएको छ । ग्रामीण भेगमा बाँझो जमिन सयौं हेक्टर छ । त्यस्तो जग्गा लक्षित
गर्दै डिभिजन वन कार्यालयले जडीबुटीका विरुवा रोप्ने अभियान थालेको छ । ‘किसानको घरदैलोमै पुगेर जडीबुटीका विरुवा लगाउन आग्रह गरिएको छ,’ डिभिजन वन अधिकृत दीपक ज्ञवालीले भने, ‘यसका लागि डिभिजन, सब–डिभिजनबाट कर्मचारी किसानको घरदैलोमा पुगिरहेका छन् ।’

खाली जग्गामा जडीबुटी रोपिँदै

डिभिजन वन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय– लगायतले अहिलेसम्म रोप्न वितरण गरेका विरुवा हुर्केको भए खेतीयोग्य जग्गा बाँकी हुन्नथ्यो । हरेक वर्ष यी कार्यालयबाट मात्र कम्तीमा ५ लाख विरुवा किसानलाई निःशुल्क र सशुल्क वितरण हुन्छ । संघसंस्था, राजनीतिक दलका विभिन्न कार्यक्रममा पनि वृक्षरोपण हुन्छ । पछिल्लो समय गाउँगाउँमा नर्सरी स्थापना भएका छन् । ‘सबै बिरुवा हुर्के, बढेको भए खेतीयोग्य जमिन नै रहन्नथ्यो होला भन्ने हामीलाई पनि लागेको छ,’ डिभिजन वन अधिकृत ज्ञवालीले भने, ‘विगतमा जे भए पनि अब नयाँ ढंगले वृक्षरोपण गर्ने योजना बनाएका छौं ।’

जमिनलाई उत्पादनमा रूपान्तरण गरेर किसानको आय आर्जन बढाउने योजना रहेको उनले बताए । जीविकोपार्जन र अर्थतन्त्रमा सहयोग पुग्ने गरी जिल्लाका १९ वटा जडीबुटी पकेट क्षेत्र पहिचान गरिएको छ । जहाँ यस वर्ष डिभिजन वनले १ लाख जडीबुटीका बिरुवा रोप्ने योजना अघि सारेको हो । यी बिरुवा ३० हेक्टर जमिनमा रोपिनेछ । त्यसका लागि जिल्लास्तरीय जडीबुटी फोकल टिम पहिचान गरिएको छ । व्यावसायिक खेती प्रवर्द्धन गर्नका लागि टिमुर, तेजपात, लप्सी, चिउरी र मालागेडी जात छनोट गरिएको छ ।

रैनादेवी छहराको जुठापौवा, रिब्दीकोटको ठिमुरे, पालुङमैनादी, तिनाउको पाटन क्षेत्रलाई टिमुरको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना बनेको डिभिजन वनका रेन्जर यमलाल पोखरेलले बताए । निस्दीको अर्चले, भीरपानी, झ्याल्टुङ, माथागढीको रुप्से, कसेनी, चिदीपानी क्षेत्रमा तेजपात लगाइनेछ । माथागढीको चिदीपानी र रम्भाको हुमिन, पीपलडाँडा क्षेत्र लप्सीको क्षेत्र बन्नेछ । माथागढीको झडेवा, तिनाउको मस्याम र रिब्दीकोटको फेक क्षेत्रमा चिउरी खेती गर्न किसानलाई सघाइएको छ ।

पकेट क्षेत्रमा ६५ हजार तेजपात, २५ हजार टिमुर, ५ हजार लप्सी, ४ हजार चिउरी र १ हजार मालागेडी रोपिनेछ । ‘यी सबै विरुवा निजी जग्गामा रोप्ने गरी तयारी गरिएको छ,’ रेन्जर पोखरेलले भने, ‘प्रत्येक वडा र पकेट क्षेत्रमा पूर्ण जिम्मेवारीका साथ वन प्राविधिक कर्मचारी खटिएका छन् ।’ प्रजातिअनुसारको खाडल किसानले खन्ने छन् । उनीहरूलाई वन प्राविधिकले खाडल खन्न, मल राख्न सिकाइरहेका छन् । विगतमा निगरानी नहुँदा १० प्रतिशत पनि बिरुवा हुर्काउन किसानले सकेका छैनन् । पाकेको गोबर मल र कालोमाटो मिसावट गरेर मात्र बिरुवा रोप्न दिइनेछ । पहिलोपटक स्थानीय जनप्रतिनिधिलाई पनि साक्षी राखेर विरुवा रोप्न लागिएको छ ।

किसानले टिमुर र लप्सीका लागि ३०, चिउरीका लागि ३५, मालागेडीका लागि २५, तेजपातका लागि २० रुपैयाँ डिभिजन वनबाट प्रतिविरुवा अनुदान पाउने सूचना अधिकारी तथा वन व्यवस्थापन अधिकृत संयोग बस्नेतले जानकारी दिए । बिरुवा रोप्ने किसानको नाम, प्रजातिअनुसारको विरुवा संख्या, प्राप्त गरेको अनुदान वडा कार्यालय र पालिकामा समेत विवरण रहनेछ । ‘यसबाट आगामी दिनमा सुपरीवेक्षणका लागि सहयोग पुग्नेछ,’ उनले भने, ‘स्थानीय तहले बिरुवा संरक्षण गरी हुर्काउने किसानलाई थप अनुदान सहुलियत दिन सहयोग पुग्नेछ ।’ डिभिजन वन कार्यालयका अनुसार यो कार्यक्रमबाट ५ हजार किसान यस वर्ष लाभान्वित हुनेछन् । यो कार्यक्रमबाट बाँझो रहेको जमिनलाई जडीबुटी खेतीमार्फत आय आर्जनमा सहभागी गराइनेछ ।

यहाँको १६ सामुदायिक वनको ३७ हेक्टर क्षेत्रफलमा वृक्षरोपण सुरु भएको डिभिजन वन कार्यालयका योजना अधिकृत रामचन्द्र लामाले बताए । उनका अनुसार २८ वटा कबुलियती वनको ८० हेक्टर क्षेत्रफलमा वृक्षरोपण अभियान सुरु भएको छ । सामुदायिक वनअन्तर्गत अतिक्रमण हटाइएको तानसेन बतासेडाँडास्थित मिलीजुली पालेको सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पनि जडीबुटी रोपिएको छ ।

जिल्लाका सबै स्थानीय तहका सामुदायिक वनमा भूगोल र हावापानीअनुसार खयर, सिसौ, तेजपात, लप्सी, चिउरी, काठजन्य तथा सौन्दर्यमूलक बिरुवा रोपिने उनले बताए । ‘विपन्न वर्गको आय आर्जनमा सहयोगी बन्दै गएको कबुलियती वनमा यस वर्ष पनि वृक्षरोपण कार्यक्रम गरिनेछ,’ उनले भने । निस्दीको ज्यामिरे, अर्चले, पूर्वखोलाको जल्पा, तिनाउको कचल र रिब्दीकोटको ठिमुरे क्षेत्रका कबुलियती वनमा ८० हेक्टर बढी क्षेत्रफलमा अभियानका रूपमा तेजपात र अम्रिसो लगाइएको छ ।

एकै दिन रोपियो ८ हजार बिरुवा

राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा रैनादेवीछहरा–४, छहरास्थित पाखुरे सामुदायिक वनले ८ हजार दालचिनीका बिरुवा रोपेको छ । सामुदायिक वनभित्र तेजपातलाई आम्दानीको स्रोत बनाउने उद्देश्यले यस वर्ष अभियानका रूपमा लगाइएको वनका अध्यक्ष नलबहादुर रानाले बताए ।

सामुदायिक वनले स्थानीयलाई घाँस–दाउरामात्र नभएर आपत्विपद् पर्दा आम्दानी गर्ने उद्देश्य पनि राखेको छ । ‘सामुदायिक वनको खाली जमिनमा तेजपातका बिरुवा लगाइएको छ,’ उनले भने, ‘यसले उपभोक्तालाई चाँडै आम्दानी दिन्छ ।’ बाँझो जमिनलाई हरियालीसँगै उत्पादनसँग जोड्ने अभियान सुरु भएको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा रहेका जडीबुटी पहिचान गरी आम्दानीको स्रोत बनाउने अभियान रहेको सब–डिभिजन अधिकृत उपेन्द्र अर्यालले बताए । उनका अनुसार बुधबार दुई घण्टामा ८ हजार विरुवा रोपिएको हो । सयौं उपभोक्ताको सहभागितामा वृक्षरोपण गरिएको डिभिजन वनले जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?