नेपालगन्जमा भानुभक्त आचार्यको सालिक अनावरण


नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ न्युरोडमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको सालिक शनिबार अनावरण गरिएको छ । स्थानीय भानु चोकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमबीच सालिक अनावरण गरेका हुन् ।


लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख रुपैयाँको लागतमा उक्त सालिक निर्माण गरेको हो । सालिका निर्माणका लागि नेपालगन्ज २ का तत्कालीन वडाअध्यक्ष सुनिलसिंह हमाल, संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायत दाताले पनि आर्थिक सहयोग गरेका छन् ।
सालिक निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ निवासी समाजसेवी स्व दामोदर आचार्यले व्यक्तिगत रुपमा सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए ।
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य हरिप्रसाद तिमिल्सिना, लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बी २ का पूर्वगभर्नर सेम शाक्य, सालिक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिति थियो ।
लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहालले शनिबार नै पद हस्तान्तरण गरेका हुन् ।
प्रकाशित : असार १८, २०७९ १७:१५