निउरो टिप्न जाँदा गोली लागेर मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार

निउरो टिप्न जाँदा गोली लागेर मृत्यु

कान्तिपुर संवाददाता

बर्दिया — बर्दियासित सीमा जोडिएको भारतको मुर्तिहास्थित घना जंगलमा गएका बेला गोली लागेर घाइते एक नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । परिवारका अनुसार निउरो टिप्न उक्त जंगलमा गएका गुलरिया–३ का ५४ वर्षीय हेमराज गोडियालाई गोली लागेको हो ।

गोली लागेर घाइते भएपछि भाग्दै घर नजिक पुगेका थिए । त्यस क्रममा उनी बेहोस भएका थिए । होसमा आएपछि फोन गरी आफन्तलाई बोलाएको उनकी श्रीमती मडेरीले बताइन् । त्यसपछि राति नै उनलाई गुलरिया अस्पताल पुर्‍याइएको थियो ।

अत्यधिक रगत बगेकाले मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । उनलाई कसले गोली हानेको हो भन्ने अनुसन्धान भइरहेको उनले जनाए । नजिकै कतरनिया वन्यजन्तु आरक्ष भएका कारण अनधिकृत रूपमा जंगल प्रवेश गरेको भन्दै भारतीय वन रक्षकले गोली हानेको आशंका नेपाली सुरक्षाकर्मीले गरेका छन् । पोस्टमार्टमपछि उनको शव आफन्तले बुझेका छन् ।

प्रकाशित : असार १८, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तु अब सांस्कृतिक नगरपालिका

कान्तिपुर संवाददाता

कपिलवस्तु — १२ औं नगरसभाको दोस्रो बैठकले बुद्ध नगरी कपिलवस्तुलाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय गरेको छ ।

‘विश्वमै शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध कपिलवस्तुमा हुर्के/बढे,’ नगर प्रमुख सुदीप पौडेलले भने, ‘त्यसलाई संस्थागत रूपमा पालिकाको नाममै बुद्धको पहिचान स्थापित गर्न यस्तो निर्णय गरिएको हो ।’

कपिलवस्तु नगरपालिकाले नाम परिवर्तनका लागि संघीय मामिला मन्त्रालयमा लेखी पठाएको छ । मन्त्रालयबाट मन्त्रिपरिषद् बैठकमा प्रस्ताव जानेछ । त्यहाँबाट निर्णय भएर आएपछि नाम परिवर्तन हुने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।


प्रकाशित : असार १८, २०७९ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×