१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कमसल कामले उप्कियो कालोपत्र, भत्कियो नाली

करोडौं खर्चेर कालोपत्र गरिएका ग्रामीण तथा मुख्य सडक, तिनका नाली र रिटेनिङ वालको अवस्था महिनाभित्रै बिजोग
चोरले चोर्दै हिँड्ने पुलिस पछि लाग्ने भन्ने हुँदैन, गुणस्तर कायम गर्ने पहिलो दायित्व निर्माण व्यवसायीकै हो– रामेश्वर लम्साल प्रमुख, सडक डिभिजन कार्यालय
माधव अर्याल

पाल्पा — रिब्दीकोट गाउँपालिकाको हार्थोकदेखि गाउँपालिका भवनसम्मको सडक अघिल्लो आर्थिक वर्षको असारमा कालोपत्र गरियो । ६ सय मिटर सडक अहिले कालोपत्र गरेको नगर्‍यै अवस्थामा पुगेको छ । वर्षायाममा निर्माण गरिएकाले कालोपत्र, नाली र पर्खालको अवस्था बिजोग बनेको हो । प्रदेश सरकारले पालिकालाई असारमा पठाएको १ करोड रुपैयाँ बजेट सक्न हतारमा उपभोक्ता समितिमार्फत काम गरिएको थियो । तर, उपभोक्ता समितिले बर्खायाममै कालोपत्रलगायतका निर्माणकार्य गर्दा दिगो हुन नसकेको हो ।

कमसल कामले उप्कियो कालोपत्र, भत्कियो नाली

रिब्दीकोटले त्यसै वर्ष कन्टीपोखरादेखि देउराली जाने झण्डै १ किलोमिटर सडक पनि कालोपत्र गरेको थियो । १ करोड खर्चेर कालोपत्र गरेकामा ६ महिना टिकेन । अहिले कालोपत्र उप्किसकेको छ । नालीको अवस्था पनि राम्रो छैन । वर्षायाममा कालोपत्र गर्दा स्थानीयले विरोध पनि गरेका थिए । पालिकाले धेरै पटक गुनासो पनि खेप्नुपर्‍यो । ‘हामीले उपभोक्ता समितिलाई बोलाएर धेरै पटक दुवै स्थानका कालोपत्रका सम्बन्धमा छलफल गरियो,’ गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जीसीले भने, ‘तर सुनुवाइ खासै भएन । बजेट अन्तिममा आयो । हतारमा काम गर्दा त्यति राम्रो हुन पाएन । टिपर अधिक चल्दा टिकाउ हुन पाएन ।’ बगनासकाली गाउँपालिकामार्फत झिरभन्ज्याङदेखि बराङ्दी, खानीगाउँसम्म जाने सडकमा गरेको कालोपत्र पनि उप्किसकेको छ । पालिका, प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद् विकास कोष) बाट १ करोडभन्दा बढी खर्चिए पनि गुणस्तरीय काम हुन सकेन । तिनाउ गाउँपालिकाको बजार क्षेत्र र रामपुर नगरक्षेत्रमा गरिएको कालोपत्रको अवस्था पनि बिजोग छ ।

सडक डिभिजन कार्यालयले सिद्धार्थ राजमार्गमा गरेको कालोपत्रको अवस्था पनि उस्तै छ । ‘एक महिना नहुँदै कालोपत्र उप्किइसकेको छ,’ कार चालक कृष्ण छन्त्यालले भने, ‘अघिल्लो वर्ष गरेको कालोपत्रको अहिले नामोनिसान छैन । खाल्डाखुल्डी मात्र छन् ।’ निर्माण गर्दा गुणस्तरमा ख्याल नगर्दा राजमार्गको अवस्था कन्तबिजोग भएको उनको भनाइ छ ।

राजमार्गको लामडाँडा घुम्तीमा अघिल्लो वर्ष कालोपत्र गरेको स्थानमा अहिले पनि कालोपत्र गरिएको छ । निर्माण व्यवसायी र सडक डिभिजनका प्राविधिकको लापरबाहीले यस्तो अवस्था आएको स्थानीयको आरोप छ । प्रभासनजिकै पनि अवस्था उस्तै छ । गौडेपुल, केराबारी, पानीमिललगायतका स्थानमा पनि कालोपत्र एक महिना पनि टिकेन । तानसेनदेखि हार्थोकसम्मको सडकमा अघिल्लो वर्ष असारमा टालटुल गरिएको थियो । उक्त सडक अहिले पुरानै अवस्था छ । सडक डिभिजनका अनुसार यी सडकको मर्मतमा मात्रै ४ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । तानसेन नगरपालिकाले पनि अघिल्लो वर्ष सडकमा मात्रै ६ करोड रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ ।

‘तर जुनसुकै स्थानमा एक वर्ष पनि नटिक्ने कालोपत्र भयो,’ तानसेन–४ का लेखनाथ ढुंगानाले भने, ‘कस्ता प्राविधिक हुन् र कस्ता निर्माण व्यवसायी हुन् ? गुणस्तर नियन्त्रण गर्न किन नसकेका होलान् !’ अधिकांश सडकमा कालोपत्र, नाली निर्माण, रिटेनिङ वालको अवस्था भद्रगोल छ । आँखैअघि न्यून गुणस्तरको काम भएको थाहा पाउँदा पनि नगरवासीले आवाज नउठाएकोमा भने उनी चिन्तित छन् ।

डिभिजन कार्यालयमार्फत भएका सिद्धार्थ राजमार्ग, तानसेन–तम्घास सडकलगायतका काममा रिटेनिङ वाल, नाली निर्माण, कालोपत्रलगायतमा कमसल सामग्रीकै कारण एक महिना पनि नटिकेको उनको दाबी छ । तानसेन–रिडी सडकमा मात्र कालोपत्रसहित स्तरोन्नति गर्न ६ करोड रुपैयाँ बढीको लागतमा अघिल्लो आवदेखि नै काम भइरहेको छ । सडक पूर्वाधार विकास कार्यालयमार्फत रानीमहल जाने सडकमा भएको कालोपत्रको काम पनि गुणस्तरहीन छ । ६ करोड खर्चिएको सडकको कालोपत्र अहिले ठाउँठाउँमा उप्किसकेको छ । कालीगण्डकी करिडोर आयोजना (गौरवको आयोजना) अन्तर्गत सडकको कालोपत्र, रिटेनिङ वाल र नाली टिकाउ हुनेगरी नबनाइएको इन्जिनियरहरू नै बताउँछन् । ‘मुख्य कुरा भनेको इस्टिमेट र त्यसको गुणस्तर नियन्त्रण नै हो,’ इन्जिनियर भीमसेन कार्कीले भने, ‘सामग्रीको गुणस्तर नियन्त्रणमा ध्यान नदिएकाले यस्तो भएको हो ।’

उनका अनुसार कालोपत्र गर्दा चिसो जमिनमा बिटुमिन बिच्छ्याउन हुँदैन । बिटुमिनको गुणस्तर जाँच भएको छैन । सब–बेस र बेस बिच्छ्याउँदा पनि गुणस्तर जाँच भएको हुँदैन । कतिपय गिट्टीमा माटो धेरै हुन्छ । रोलिङ गर्दा पनि कमजोरी भएको छ । सुक्खा हुन दिएपछि ब्रस गरेर वा एयर प्रेसरले धूलो सफा गर्नुपर्नेमा त्यस्तो नगरिएकाले कालोपत्र टिकाउ नहुने गरेको उनको भनाइ छ । रिटेनिङ वाल र नाली निर्माणमा गुणस्तरको बालुवा र सिमेन्ट प्रयोग नगरिएको उनले दाबी गरे । ‘जे जति सामग्री प्रयोग गरिएको छ । त्यसको गुणस्तर जाँच राम्रोसँग भएको छ वा छैन भन्ने महत्वपूर्ण हुन्छ । प्राविधिकको रेखदेख कसरी भएको छ भन्ने पनि महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।

तानसेनदेखि चिडियाखोलासम्म निर्मित नाली र रिटेनिङ वालको गुणस्तर राम्रो देखिँदैन । केही स्थानमा माटोको मात्रा अत्यधिक भएको बालुवा प्रयोग गरेको थाहा पाएपछि सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन नै दिएका थिए । सिद्धार्थ राजमार्गमा अघिल्लो आर्थिक वर्षदेखि १५ करोड रुपैयाँभन्दा बढीको काम भइरहेको छ । ‘हामीले भन्नुपर्ने सबै स्थानमा काम राम्रो गराउन भनियो,’ प्राविधिक सन्तोष कार्कीले भने, ‘हामी आफैं हिंड्ने सडक हो, राम्रो हुनुपर्छ भन्ने हामीलाई पनि लाग्छ । अरू केही होइन, गुणस्तरको काम हुनुपर्छ भन्ने नै हो ।’ तर निर्माण व्यवसायी भने काम नराम्रो गरेको स्वीकार्दैनन् । त्यसमाथि धेरै स्थानमा एकै पटक ठेक्का लिने र काम अल्झाएर राख्ने समस्या पनि छ ।

निर्माण व्यवसायीको लापरबाहीले गर्दा काममा गुणस्तर नभएको सडक डिभिजन प्रमुख लम्साल बताउँछन् । उनी नियमनमा भने समस्या देख्दैनन् । ‘म्याद सकिनै लाग्दा काम गर्ने र प्रेसरमा काम गर्ने भएकाले नै गुणस्तरमा पनि कमजोरी भएको हुन सक्छ,’ उनले भने, ‘यही काम फागुन–चैतमा गर्न कसले रोकेको थियो र ? अनुशासित नहुँदा नै समस्या आएको हो ।’ गुणस्तर नियन्त्रण कर्मचारीले मात्र गर्ने विषय नहुने उनको भनाइ छ । गुणस्तरको काम गर्छु भन्ने प्रतिबद्धता जनाएका निर्माण व्यवसायीले गलत गर्दा कर्मचारीले मात्र नियन्त्रण गरेर नसक्ने उनले स्पष्ट पारे । ‘पहिलो दायित्व निर्माण व्यवसायीकै हो,’ उनले भने, ‘चोरले चोर्दै हिंड्ने पुलिस पछि लाग्ने भन्ने हुँदैन । जोसुकैले पनि चासो लिनुपर्छ ।’

निर्माण व्यवसायी टोपबहादुर रायमाझीले भने समयमा टेन्डर नगर्ने भएकाले व्यवसायीलाई मात्र दोष दिएर नहुने बताए । ‘तापक्रम पुग्नेगरी, सुक्खा बनाएरै कालोपत्र राख्ने गरिएको छ,’ उनले भने, ‘सकेसम्म गुणस्तरमा कमी गर्न हुन्न भन्ने सबैमा छ ।’ काम गर्ने सिलसिलामा कमीकमजोरी भए अन्तिम रकम निकासा नहुँदासम्म सुधार्न सकिने उनको तर्क छ ।

प्रकाशित : असार १७, २०७९ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?