२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

रूपन्देही पूर्ण खोप जिल्ला घोषणा हुँदै

असार मसान्तसम्ममा लक्षित उमेर समूहलाई प्राथमिक मात्रा दिएपछि घोषणाको तयारी
माधव ढुंगाना

भैरहवा — कुनै बेला कोरोना संक्रमणको ‘हटस्पट’ मानिएको रूपन्देहीलाई छिट्टै कोरोनाविरुद्धको पूर्ण खोप जिल्ला घोषणा गरिने भएको छ । पूर्ण खोप जिल्ला घोषणा गर्न जिल्ला खोप समिति, स्वास्थ्य कार्यालय, पालिकामा रहेका स्वास्थ्य चौकीलगायत निकाय अन्तिम तयारीमा
जुटेका छन् ।

रूपन्देही पूर्ण खोप जिल्ला घोषणा हुँदै

स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले कोरोनाविरुद्धको प्राथमिक मात्रा (१ वा २ मात्रा) लगाउनुलाई पूर्ण खोप मानिने र जिल्लामा सबैजसोले उक्त मात्रा लगाइसकेको बताए । ‘अब रूपन्देहीलाई कोरोनाविरुद्धको पूर्ण खोप जिल्ला घोषणा गर्दै छौं,’ उनले भने, ‘केही पालिकामा खोप लगाउन छुटेका कोही छन् कि भनेर अन्तिम पटक घर–घरमा पुगेर सोधखोज र सर्भेक्षण गर्ने काम भइरहेको छ ।’

यतिबेला ५–११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइँदै छ । यो क्रम सकिनासाथ असारको अन्तिमतिर पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी गरिएको उनले जनाए । कोरोना संक्रमण नियन्त्रणका लागि रूपन्देहीमा तयार पारिएका ५ वटै क्वारेन्टाइन अहिले बन्द छन् । १६ वटै पालिकामा तयार आइसोलेसन सेन्टर पनि निष्क्रिय छन् । कुनै पनि अस्पतालमा कोरोना संक्रमित उपचाररत छैनन् ।

जिल्लामा ८ लाख ३५ हजार ७ सय ९० जनालाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको थियो । अहिलेसम्म दुवै मात्रा खोप लगाउनेको संख्या ८ लाख ४२ हजार नाघेको ढकालले बताए । ‘अन्यत्र जिल्लाका पनि खोप लगाउन आउने र सुरक्षाकर्मी धेरै भएका कारणले यहाँको जनसंख्याभन्दा खोप लगाउनेको संख्या बढी हुन पुगेको हो,’ उनले भने, ‘प्राप्त खोपमध्ये अब साढे ७ सय मात्रा मौज्दात छ ।’

स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले कोरोनाविरुद्धको खोप लगाउने अभियानमा मुलकभरका जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा धेरै प्रगति भएको दाबी गरे । ‘पालिकाहरूसँग सहकार्य गरेर खोप लगाउने कार्यलाई प्रभावकारी बनाइएको छ,’ उनले भने, ‘कोरोनाविरुद्धको पूर्ण खोप जिल्ला घोषणा गर्ने रूपन्देही नेपालमै पहिलो नमूना जिल्ला बन्दै छ ।’

रूपन्देहीका १६ पालिकामध्ये रोहिणी, शुद्धोधन, मर्चवारी, सियारी, ओमसतिया, सैनामैना र तिलोत्तमाले पूर्ण खोप पालिका घोषणा गरिसकेका छन् । बुटवल, कञ्चन, गैडहवा, सिद्धार्थनगर, कोटहीमाई, मायादेवी, देवदह र सम्मरीमाईले उक्त घोषणा गर्न सबै प्रक्रिया पूरा गरिसकेको जनाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा खोप लगाउन छुटेका छन् कि भनेर घरघरमा खोजी गर्ने र छुटेकालाई लगाइदिने क्रम जारी छ । जिल्लाभर कोरोनाविरुद्धको बुस्टर डोज लगाउनेको संख्या नै २ लाख ९१ हजार पुगिसकेको छ । ‘रूपन्देहीका कुनै पनि अस्पताल तथा स्वास्थ्य संस्थामा अहिले संक्रमित छैनन्,’ शर्माले भने, ‘सिमानामा जाँच गर्दा भारतबाट आउनेलाई फाट्टफुट्ट देखिने गरेको छ ।’

जिल्लामा अहिलेसम्म ३८ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएकोमा ३७ हजार ३ सय ४५ जना निको भइसकेका छन् । ९ सय १ को मृत्यु भएको छ । कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिएको एकै दिन रूपन्देहीमा १ हजार ७ सय जनासम्म संक्रमित भएका र १५ जनासम्मको मृत्यु भएको तथ्यांक छ ।

अहिले पनि सुनौली–बेलहिया सीमा नाकामा दैनिक नियमित कोरोना परीक्षण गरिँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ । सिमानास्थित हेल्थ डेस्क बेलहियाका इन्चार्ज लालमोहन चौधरीले अहिले पनि नाकामा नियमित आरडीटी परीक्षण जारी रहेको र प्रतिदिन २ सय ५० देखि ४ सय जनासम्मको परीक्षण हुने गरेको बताए ।

पूर्ण खोप जिल्ला घोषणा गर्नुपूर्व प्रत्येक वडाका घर–घरमा गएर तथ्यांक संकलन गर्ने, खोप नलगाएकालाई लगाइदिने गरिन्छ । त्यसपछि वडा र पालिकाले पुनः सर्भेक्षण गरेपछि जिल्ला समन्वय समितिमा पूर्ण खोप पालिका घोषणा गर्न सिफारिस गर्ने व्यवस्था छ । ‘सबैको प्रयास, सचेतना र खोपका कारण संक्रमण घटेको छ,’ जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने, ‘संक्रमण न्यून र शून्यमा रहे पनि स्वास्थ्य सावधानी अपनाउन भने

जरुरी छ ।

प्रकाशित : असार १७, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?