'टेस्ट राइड' मागेर मोटरसाइकल चोर्ने पक्राउ


तिलोत्तमा — मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ का नाममा मोटरसाइकलसहित फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सैनामैना रामापुरबाट मोटरसाइकल किन्ने भन्दै ‘टेस्ट राइड’ गर्न निस्केका सैनामैना नगरपालिका ८ का १८ वर्षीय किशोरलाई फरार भएको दुई दिनपछि सालझण्डी प्रहरीले पक्राउ गरेको हो । ती किशोरलाई कञ्चन गाउँपालिकाको रातडाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सडक किनारमा रोकिएको मोटरसाइकल मन परेको भन्दै किन्न तयार भएका ती किशोरले मूल्य तय गरी टेस्ट राइड गर्ने भन्दै निस्केर फरार भएका थिए । रोल्पाबाट बुटवल आउँदै गरेका रोल्पा त्रिवेणी गाउँपालिका ७ का दिलबहादुर विकले सैनामैना रामापुरमा मोटरसाइकल रोकेर चिया पिउँदै गर्दा बाईक मन परेको भन्दै नाटकीय रुपमा ती किशोर बाइक किन्न पुगेको र बाइक लिएर फरार भएको प्रहरीले जनाएको छ ।
