कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नहर छ, पानी छैन

‘धान र गहुँ लगाउने समयमा नहरमा पानी नछोड्दा किसान बर्सेनि सास्ती भोग्न बाध्य’
कमल पन्थी

बर्दिया — बारबर्दिया नगरपालिका–१० का ६५ वर्षीय हाउले थारु मंगलबार बिहान निकै खुसी देखिन्थे । तर, उनको खुसी धेरै बेर टिकेन । आकाशमा कालो बादल मडारिँदै केही बेर सिमसिमे पानी पर्‍यो र बन्द भयो । उनको खेत रोप्ने खुसी छिनभरमै खोसियो ।

नहर छ, पानी छैन

हातमा फरुवा बोकेर खेतमा गएका उनी पानी पर्न बन्द भएपछि निराश हुँदै घर फर्किए । उनको घरनजिक बबई सिँचाइ आयोजनाको नहर भए पनि पानी नबग्दा समयमै खेत जोत्न पाएका छैनन् । रोपाइँ त टाढाको कुरा, गरा पटपट्ती फुटेपछि जोत्न पनि मुस्किल पर्ने उनले सुनाए । बारबर्दिया नगरपालिकाका धेरै ठाउँमा बबईको नहर निर्माण भए पनि त्यसमा पानी नबग्दा किसानले खेत सिँचाइ गर्न पाएका छैनन् ।

खेती गर्ने समयमा पानी नछोड्दा नहर निर्माण भए पनि किसानका लागि खुसी नदिएको स्थानीय बल्लु थारुले गुनासो गरे । ‘सरकारले अर्वौं रुपैयाँ नगरका लागि लगानी गरे पनि यसबाट किसानले प्रतिफल पाएका छैनन्,’ उनले भने, ‘धान र गहुँ लगाउने समयमा नहरमा पानी नछोड्दा किसान बर्सेनि सास्ती भोग्न बाध्य छन् ।’ राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ आयोजनाको नहरमा पानी नहुँदा यहाँका सयौं किसानले रोपाइँ गर्न पाएका छैनन् ।

पूर्वतर्फको २१ हजार र पश्चिमतर्फको १५ हजार हेक्टर कृषियोग्य जमिनमा सिंचाइ पुर्‍याउने उद्देश्यका साथ ०५१ सालदेखि नहरको काम सुरु भएको हो । बबई उपभोक्ता शाखा समितिका अध्यक्ष रामभरोसे थारूले ठेकेदार कम्पनी र कार्यालयको हेलचेक्र्याइँले नहर र तटबन्धको काम ढिलासुस्ती भएको आरोप लगाए ।

सिंचाइका लागि निर्माण भएका नहरमा समेत पानी नहुँदा किसानले रोपाइँ गर्न नपाएको उनले गुनासो गरे । पर्याप्त सिँचाइका लागि ५७.५ क्युमेक्स पानी चाहिन्छ । अहिले ९ क्युमेक्स पानी बगिरहेको बबई सिंचाइ आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नवीन अधिकारीले भेरी बबई डाइभर्सनको काम पूरा भएपछि बाह्रै महिना पर्याप्त पानी बग्ने र सिँचाइ सुविधा हुने बताए । ‘आव २०८२/८३ सम्म भेरी बबई डाइभर्सनको काम सम्पन्न हुन्छ,’ उनले भने । आयोजनाले हालसम्म १० अर्ब ८७ करोड भौतिक संरचनामा खर्च गरेको छ । पूर्वी मूल नहर ३४ किमि गत वर्ष निर्माण सम्पन्न भइसकेको छ । पश्चिमी मूल नहर कुल ४१ किमिमध्ये २८ किमि निर्माण पूरा भएको छ । उत्तरको मूल नहर ८.५ किमि निर्माण भएको छ । आयोजनाका अनुसार जब्दी बर्गदहा मूल नहर ४.५ किमि निर्माण सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए । उनले काम नगर्ने १२ जना ठेकेदार कम्पनीविरुद्ध सूचनासमेत प्रकाशित गरिएको जनाए । आयोजनाको काम सम्पन्न गर्न सरकारले कुल १८ अर्ब ९६ करोड ३० लाख रुपैयाँ स्वीकृत गरिसकेको छ । आयोजनाको भौतिक प्रगति ६१ प्रतिशत भएको छ ।

प्रकाशित : असार १६, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?