पानी परेपछि धमाधम रोपाइँ

नवलपरासी/बर्दिया — लामो समयको सुक्खापछि मंगलबारयता लुम्बिनी प्रदेशमा वर्षा सुरु भएको छ । सिंचाइ अभावमा धान उत्पादन क्षेत्रमै रोपाइँ हुन सकेको थिएन । बुधबार प्रदेशभरि खेतमा रोपाइँ सुरु भएको छ । यसअघि सिंचाइ सुविधा भएका जिल्लामा मात्र खेत रोपिएको थियो ।

पश्चिम नवलपरासीमा असार १५ सम्म ८० प्रतिशत धान रोपाइँ सकिएको छ । रासायनिक मलको चर्को अभावका बीचमा किसानले भारतबाट मल ल्याएर रोपाइँ गरेका हुन् । अघिल्लो वर्ष असार १५ सम्म जिल्लामा ५० प्रतिशत मात्र रोपाइँ भए पनि यस वर्ष समयमा नै रोपाइँ भएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिवप्रसाद अर्यालले बताए । ‘जिल्लामा धान रोपाइँ करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । वर्षात पर्याप्त नभए पनि किसानले जेनेरेटरबाट पानी तानेर रोपाइँ गरेका छन्,’ उनले भने, ‘मंगलबारदेखि प्रशस्त वर्षा भएकाले केही दिनमा नै रोपाइँ सम्पन्न हुने अनुमान छ ।’

अहिले अधिकांश किसानले स्थानीय प्रजातिको धान लगाएका छन् । रैथाने कालो मन्सुली, सावित्री धान बढी रोपिएको छ । ‘सिंचाइ र रासायनिक मल पाइँदैन । सरकारले यसको व्यवस्थापनमा ध्यान नदिए पनि हामीले जग्गा बाँझो राख्न सकिंदैन,’ पाल्हीनन्दन गाउँपालिका–३ का रमेश चौधरीले भने, ‘लुकीछिपी भारतबाट मल ल्याएर रोपाइँ गरियो । अब गोड्ने बेलासम्म सरकारले मलको व्यस्थापन गरिदिएमा सहज हुने थियो ।’ जिल्लामा २९ हजार ९ सय ७५ हेक्टरमा धान खेती हुने गरेको छ ।

मनसुन सक्रिय नभएका कारण बर्दियामा हालसम्म ७६ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन । असार दोस्रो सातासम्म जिल्लामा मनसुन सक्रिय नभएका कारण २४ प्रतिशत मात्रै रोपाइँ भएको हो । मंगलबारसम्म बबई सिंचाइ आयोजनाको नहरमा समेत पर्याप्त पानी नहुँदा यस क्षेत्रमा किसानले धान रोपाइँ गर्न पाएका छैनन् । मनसुनी वर्षा बुधबार बिहान केहीबेर परेपछि किसान खेत जोत्ने र केही ठाउँमा रोपाइँ सुरु गरेका छन् । धान रोपाइँका लागि प्रशस्त पानी परेको छैन । धानका लागि ५७ दशमलव ५ क्युसेक पानी चाहिने बबई सिंचाई आयोजनामा ९ क्युसेक पानी बगेको आयोजना प्रमुख नवीन अधिकारीले जनाए ।

उनले पर्याप्त वर्षा नहुँदा नहरमा पानी न्यून रहेको जनाए । बर्दियामा ५२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । पर्याप्त पानी नपर्दा जिल्ला स्तरीय धान महोत्सव भने गरिएको छैन । तर, पालिकास्तरमा मधुवन र बासगढी नगरपालिकाले धान रोपाइँ गरेर महोत्सव मनाएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले बताए ।

प्रकाशित : असार १६, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?