वर्षाले सहिदमार्ग अवरुद्ध, रोल्पाका दर्जनौँ गाउँ जोखिममा

काशीराम डाँगी

रोल्पा — वर्षायाम सुरु भएलगत्तै पूर्वी रोल्पास्थित लुङग्री गाउँपालिकाले निर्माण गरेको काठे पुल खोलाले बगाएको छ । मंगलबार रातिको बाढीबाट किलाचौर–दोभान–पाङ सडक अन्तर्गत वडा नं १ र ५ जोड्ने बोज्याङ खोला पुल भत्किएको हो ।

वर्षाले सहिदमार्ग अवरुद्ध, रोल्पाका दर्जनौँ गाउँ जोखिममा

गाउँपालिकाले उक्त पुल निर्माण गर्दा आर्थिक अनियमितता भएको भन्दै सार्वजनिक रुपमा आलोचनासमेत भएको थियो । जसकारण लामो समय विवाद निम्तिएको थियो ।

वर्षासँगै पहिरो खस्दा रोल्पा प्रवेश गर्ने होलेरी सडकसमेत अवरुद्ध भएको छ । मंगलबार राति घोराही र होलेरीबीचमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

रातभर पहिलो खस्दा ग्रामीण सडकसमेत भत्किएका छन् । सहिद मार्गका अधिकांश स्थानमा पहिरो खसेको र सडक अवरुद्ध हुँदा छोटो दूरीमा यातायात अवरुद्ध भएका छन् ।

यी हुन् रोल्पाका जोखिमयुक्त गाउँ

भारी वर्षा हुनेबित्तिकै पहिरोको जोखिममा पर्नसक्ने रोल्पामा दर्जनौँ गाउँ छन् । जोखिमयुक्त ती गाउँ जोगाउन स्थानीय र माथिल्लो तहका सरकारले ठोस योजना बनाएका छैनन् ।

जथाभावी सडक विस्तार गर्नु, खोला र खोल्सा नजिकै बस्ती बसाउनु र वर्षौंदेखि पहिरोको जोखिम हुँदाहुँदै विकल्प नखोज्नु जोखिमका मुख्य कारण हुन् । कतिपय स्थानीय तहले व्यवस्थित बसोबासका लागि प्रयास गरे पनि गुरु योजना अभावले जोखिम न्यून हुन सकेको छैन । जिल्लाका पूर्वी, उत्तरी र दक्षिणी गाउँहरू सबैभन्दा जोखिममा रहेका छन् ।

सदरमुकाम लिबाङ नजिकै रहेको धबाङ वर्षा याममा उच्च जोखिममा रहँदै आएको छ । अघिल्लो वर्ष धबाङ गाउँमा ४० घर जोखिममा परेका थिए । पहिरो खस्दा रोल्पा नगरपालिका–१०मा पर्ने घरहरू पुरिएको र केहीमा क्षति पुगेको थियो । तर नगरले जोखिम कम गर्न योजना बनाएको छैन । पहिरोको उच्च जोखिममा रहेका नगरभित्रका अन्य गाउँमा होमा, कोटगाउँ, जंकोट, जेदबाङ लगायत छन् । दुई वर्षअघि जंकोटका दर्जन गाउँ पहिरोमा पुरिएका थिए । करिब एक सय घरमा क्षति पुगेको थियो । नगरभित्र हरेक वर्ष पहिरोका कारण मानवीय क्षति हुने गरेको प्रहरीले जनाएको छ ।

पूर्वी रोल्पापको सुनछहरी गाउँपालिकाको गाम, सेरम, जैमाकसला, फगाम र जेलबाङ उच्च जोखिममा छन् । गामको केही बस्ती सार्ने योजना अघि सारे पनि पूरा भएको छैन । सेरमको फुलीवन गाउँ नजिकै प्रदेश सरकारको लगानीमा बस्ती विकास योजना संचालन गरे पनि बस्ती विकास योजनाका केही घर जोखिममा रहेका छन् ।

थबाङको उवा क्षेत्रमा पनि हरेक वर्ष पहिरोको जोखिम बढ्छ । उवाको ठूलोगाउँ उच्च जोखिममा रहेको छ । तलतिर खोला र माथिबाट पहिरो खसेपछि बसाइएको उक्त बस्तीमा हरेक वर्ष त्रास बढ्छ । कोर्चाबाङ, भावाङ, कुरेली, जिनाबाङ, जुगार, गैरीगाउँ, ओत लगायत गाउँ उच्च जोखिममा छन् । वर्षा याममा यहाँ पहिरो खस्ने र सडक निर्माणका कारण घर पुरिने घटना भइरहन्छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले विपद व्यवस्थापन समिति मार्फत् जिल्लाका अति जोखिम क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी योजना बनाउने गरिएको बताए । वर्षा सुरु हुनुअघि सबै स्थानीय तहका प्रमुखसँग बैठक आयोजना गरी जोखिमयुक्त क्षेत्रको पहिचाह गरी सुरक्षाका लागि पहल गरिएको उनले बताए । अघिल्लो वर्ष पहिरोले गर्दा दर्जन मानिसको ज्यान गएको थियो ।

प्रकाशित : असार १५, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?