गाउँसभा अन्योलमा

सामाजिक विकास समितिको संयोजकमा एमाले र कांग्रेसबीच विवाद

अर्घाखाँची — सामाजिक विकास समितिको संयोजकमा एमाले र कांग्रेसबीच कुरा नमिल्दा छत्रदेव गाउँपालिकाको गाउँसभा अन्योलमा परेको छ । गाउँसभा चलिरहेका बेला पालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले कांग्रेसबाट निर्वाचित छत्रदेव–६ का वडाध्यक्ष कमल पौडेललाई समितिको संयोजक प्रस्ताव गरेपछि एमालेबाट निर्वाचित पालिका उपाध्यक्ष मनी पन्थीसहितका जनप्रतिनिधिले विरोध जनाउँदै सभा बहिष्कार गरेका हुन् ।

गाउँसभा अन्योलमा

असार ९ र १० गते नीति कार्यक्रम र बजेट पेस गर्ने कार्यक्रम रहेकामा उपाध्यक्ष पन्थीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि गाउँसभा स्थगित भएको हो । कार्यपालिकामा एमालेको बहुमत भएकाले समितिको संयोजक पाउनुपर्ने उनीहरूको अडान छ ।

पालिका अध्यक्ष श्रेष्ठले समितिको संयोजक प्रस्ताव गर्ने अधिकार नियमतः आफूलाई भएकाले पौडेललाई सामाजिक विकास समिति र एमालेबाट निर्वाचत छत्रदेव–३ का वडाध्यक्ष तेजप्रसाद खनाललाई आर्थिक समितिको संयोजक तोकेको बताए । पौडेल यसअघि पनि उक्त समितिका संयोजक थिए । खनाल पनि पुरानै हुन् । दुवै जना वडाध्यक्षमा दोहोरिएका हुन् ।

कामलाई प्रभावकारी बनाउन समान ढंगले समितिको संयोजक तोक्दा उपाध्यक्ष पन्थीसहितका जनप्रतिनिधिले अवरोध सिर्जना गरेर गाउँसभा बहिष्कार गरेको श्रेष्ठले बताए । एमाले र कांग्रेसका नेताबीच बारम्बार छलफल र बैठक बसे पनि दुवै पक्षले अडान नछाड्दा सहमति जुट्न सकेको छैन । उपाध्यक्ष पन्थीले अध्यक्ष श्रेष्ठसहितका कांग्रेस जनप्रतिनिधिले आफूहरूसँग कुनै छलफल, परामर्श नगरेकाले गाउँसभा बहिष्कार गरेको बताइन् । ‘संयोजक तोक्दा छलफल हुनुपर्थ्यो, बजेट बनाउँदा पनि मलाई कुनै सोधखोज गर्ने काम भएन,’ उनले भनिन्, ‘एकलौटी गरिएकाले बहिष्कार गर्नुपरेको हो ।’ उनले संयोजक पद आफूहरूले पाउनुपर्ने अडान भए पनि त्यसभन्दा महत्त्वपूर्ण बजेट बाँडफाँटमा आफूलाई नसोधी बाँड्ने काम गरेको आरोप लगाइन् ।

विकास बजेट छनोट गर्दा राजनीति भन्दा कहाँ कुन योजना आवश्यक्ता छ त्यसलाई हेरेर बजेट छुट्टाउनुपर्ने अध्यक्ष श्रेष्ठको तर्क छ । ‘गाउँसभा बहिष्कार गर्दा मेरो मात्रै बदनाम भएको छैन,’ श्रेष्ठले भने, ‘बहुमत छ भन्दैमा जे पाई गर्नुहुँदैन । मैले नियमसंगत गरेको छु, यसमा दायाँबायाँ हुन्न ।’ जिल्लाका अन्य पाँच पालिकामा ९ र १० गते नै सभा सम्पन्न भएका छन् । ‘दलहरूबीच छलफल चलिरहेको छ,’ प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले भने, ‘आइतबारसम्म अन्योलमा रहेको गाउँसभाबारे छिट्टै सहमति जुट्ला भन्ने आशा छ ।’

प्रकाशित : असार १३, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?