कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सात वर्षपछि कर्णालीमा घडियालका बच्चा

निकुञ्जको घडियाल प्रजनन केन्द्रमा यस वर्ष ५० वटा बच्चा जन्माइए
मनोज पौडेल

ठाकुरद्वारा, बर्दिया — दुर्लभ घडियाल गोहीले दुई दशकपछि कर्णाली नदीमा बच्चा कोरलेका छन् । कर्णालीबाट निस्किएको गेरुवातर्फको खौराहा खोलामा यस वर्ष २८ वटा बच्चा देखिएका हुन् । कर्णालीको यो जलमार्गमा १७ वर्षपछि घडियालले सफल वासस्थान बनाएको पहिलो संकेत मानिएको छ । यसअघि २०७२ सालमा कर्णालीमा घडियालले बच्चा कोरलेको रेकर्ड छ ।

सात वर्षपछि कर्णालीमा घडियालका बच्चा

बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी र आसपास बसोबास गर्ने गाउँलेले निकुञ्ज क्षेत्रमा घडियाल गोहीको वासस्थान र प्रजनन स्थल फेला पारेको हुन् । उनीहरूले मुलुककै सबैभन्दा लामो कर्णाली नदीको सहायक नदी गेरुवा नदीमा २८ वटा बच्चा गणना गरेका छन् ।

‘निकुञ्जका कर्मचारी नियमित अनुगमनमा जाँदा त्यहाँ घडियाल देख्थे,’ निकुञ्जका प्रमुख विष्णु श्रेष्ठले भने, ‘सामान्य रूपमा लिएर फर्किन्थे ।’ दुई वर्षदेखि त्यहाँ घडियाल देखिएको उनले बताए । ‘३/४ साताअघि जाँदा घडियालले आक्रमकताको संकेत देखायो । झम्टिन लाग्लाजस्तै गर्‍यो,’ उनले भने, ‘त्यसपछि घडियालले अण्डा पारेको हुनुपर्छ भन्ने विश्वास भयो । निकुञ्जको हेडक्वार्टर नजिकै हात्तीसारबाट नियमित अनुगमन गर्‍यौं । नभन्दै सातापछि बच्चा देखिन थाले ।’

पानीको वहाब कम र बाढी नआउने खोला घडियाल प्रजननका लागि उपयुक्त हुने बर्दिया राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन रमेश थापाले बताए । ‘०७२ पछि कर्णालीको गेरुवातर्फको भँगालोमा व्यवस्थित रूपमा पानी निकास हुने वातावरण बनायौं,’ उनले भने, ‘ताल र पोखरीमा लुकेर रहेका घडियालले वासस्थान बनाए । बच्चा कोरले ।’ यसले अहिले उक्त खोला घडियालमैत्री बन्न सकेको उनले बताए । अब यसलाई प्राकृतिक वातावरणमा घडियालले बच्चा कोरल्ने ठाउँ बनाउनु पर्ने उनले बताए ।

त्यस्तै भर्खरै निकुञ्ज क्षेत्रभित्र बबई नदीको स्रोतखोला पोस्ट नजिक धनुसेमा पनि घडियालले ३० वटा बच्चा कोरलेको छ । त्यस्तै निकुञ्जमा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष ५० वटा बच्चा जन्माइएको छ । ७ वर्षपछि प्रजनन केन्द्रमा धेरै बच्चा जन्माएको पहिलो हो । प्राकृतिक वासस्थलमा घडियाल जोगिन निकै गाह्रो छ । कृत्रिम वासस्थानमा पनि भाले नलाग्दा र प्राविधिक कुरा नमिल्दा गोहीको प्रजनन चुनौतीपूर्ण छ । मुलुकभर वर्षमा कम्तीमा दुई सय बच्चा प्राकृतिक वासस्थानबाटै निस्कन्छन् । तर, यीमध्ये बढीमा १० प्रतिशत मात्रै जोगिन सक्ने गोहीविज्ञहरू बताउँछन् । ‘भेल, बाढीले बगाउँछ । त्यसरी बगाउँदा नमरे पनि माउको रेखदेखबाट छुटेका बच्चा अरूको आहारा बन्छन्,’ राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख डा. रविन कडरियाले भने । घडियाल गोही सफा पानीमा मात्रै बस्छ । प्रदूषणका कारण यसको वासस्थलमा असर परेको छ । ‘घडियाल जोगिनु वातावरण ठिक भएको संकेत हो,’ उनले भने ।

नेपालमा सन् १९७८ देखि यस प्रजातिको संरक्षण र प्रजनन कार्यक्रम सञ्चालन गरिंदै आएको छ । मुलुकभर ८० को हाराहारीमा घडियाल रहेकाले संरक्षण गर्न ०३५ सालमा चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक घडियाल गोही संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो । प्राकृतिक वासस्थलमा गोहीले पारेका अण्डा संकलन गरेर केन्द्रमा ल्याइन्थ्यो । ०४० मा उद्धार केन्द्रको रूपमा बर्दिया राष्ट्रिय निकुञ्जमा गोही राख्न थालियो । त्यही वर्ष बबई नदीबाट २५ वटा गोहीका अण्डा लगेर राखियो । सन् २०१० मा चितवनबाट १० घडियाल लगेर छाडियो । लोप हुने खतरामा पुगेको दुर्लभ जीव हो, घडियाल गोही । पानी र जमिन दुवैमा बस्न सक्ने यो जीवले प्रायः घाम ताप्न र अण्डा पार्नका लागि पानीबाहिर निस्केर बालुवामा बस्ने गर्छ । पोथी गोहीले १५ वर्षको उमेरपछि अण्डा निकाल्छ । खाल्टो खनेर अण्डा पारेपछि पुरेर राख्छ तर माउले नियमित निगरानी गरिरहन्छ । माउमध्ये जो अलि बलियो र आक्रामक छ, बच्चाको नियमित रेखदेख गर्ने जिम्मा उसैको हुन्छ । चरा, ठूला माछा र मगर गोहीले घडियालका साना बच्चा खाने गर्छन् । बच्चालाई उनीहरूको आहारा हुनबाट जोगाउन बलियो, छरितो, फुर्तिलो र आक्रामक माउ चाहिन्छ । त्यस्तो काम एउटाले गर्छ । वरपर अन्य माउ पनि रहन्छन् । तर, सानै छँदा बाढी आएर बगायो भने जोगाउन गाह्रो हुन्छ ।

गोहीले पानी भएको ठाउँबाट १ देखि ५ मिटरसम्म पर ५०/६० सेमि बालुवा खोस्रिएर अण्डा पार्छ । अण्डालाई पुनः बालुवाले पुरेर माउ नजिकैको पानीमा बसेर रेखदेख गर्छ । अण्डा पारेको ७५ देखि १ सय दिनसम्ममा त्यसबाट बच्चा निस्कन्छ ।

ती बच्चालाई करिब ३ महिनाजति माउले संरक्षण गर्छन् । ‘जमिनको तापक्रम ३२ डिग्री सेल्सियस हुँदामात्रै भाले बच्चा जन्मने सम्भावना हुन्छ,’ निकुञ्जका सहायक वार्डेन मुकुन्द सञ्जेलले भने, ‘त्यसभन्दा कम वा बढी हुँदा पोथी जन्मिन्छ ।’ ९५ प्रतिशत बच्चा पोथी हुन्छन् ।

नदीमा वातावरणीय प्रदूषण बढेसँगै गोही संकटमा पर्दै आएका छन् । त्यही भएर घडियाल संरक्षण कार्य योजना (२०१८–२०२२) बनाएर काम थालिएको हो । योजनाले सिंचाइ र विद्युत्का लागि ठूला बाँध निर्माण प्रमुख खतरामध्ये एक रहेको उल्लेख गरेको छ । बाँधले घडियाल र अन्य जलीय प्रजातिको बसाइँसराइमा बाधा पुर्‍याउने मात्र होइन, गोहीको अण्डा पार्ने स्थान र बासस्थानलाई पनि असर गरिरहेको संरक्षणकर्मी राम शाहीले बताए । त्यस्तै सिमेन्ट, रबर र फलामजन्य कारखानाबाट घरेलु र औद्योगिक ढल र रासायनिक फोहोर नदीमा विसर्जनले पनि घडियाललाई गाह्रो बनाइरहेको उनले बताए ।

कतिपय अवस्थामा नदी किनारका बासिन्दाले माछा मार्न थापेको जालमा परेर गोही मरेका छन् । स्थानीयले गोहीको मासु र अण्डासमेत खाने चलनले पनि यो प्रजाति थप संकटमा परेको जानकारहरू बताउँछन् । नारायणी, राप्ती, बबई र कर्णाली नदीमा विभिन्न उमेरका १ सय ९८ घडियाल गोही छन् । वन्यजन्तु ऐनमा संरक्षित सूचीको घडियाल गोही ७० देखि ८० वर्षसम्म बाँच्ने उल्लेख छ ।

संसारमै दुर्लभ मानिने घडियाल गोही नेपाल र भारतमा मात्र पाइन्छन् । प्राकृतिक वासस्थानमा गोहीले आफैं माछाको सिकार गरेर खान्छ । प्रजनन केन्द्रभित्र रहेका गोहीलाई पनि ताजा माछा नै खुवाइन्छ । नेपाल र भारतमा प्रजनन गर्ने वयस्क उमेरका करिब ६ सय घडियाल गोही रहेको अनुमान छ ।

प्रकाशित : असार १३, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?