रैथाने कुखुरा र टर्कीबाट आम्दानी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रैथाने कुखुरा र टर्कीबाट आम्दानी

कान्तिपुर संवाददाता

अर्घाखाँची — रोजगारी खोज्दै सन्धिखर्क नगरपालिका–११ डिभर्नाका प्रकाश हमाल मलेसिया पुगे । त्यहाँ सोचेजस्तो नभएपछि घर फर्किएका उनी केही समयपछि अर्को देश जाने तयारीमा थिए । बजारमा रैथाने कुखुराको माग बढेको थाहा पाएपछि त्यसैको पालनमा लागे । अहिले कुखुरा फार्म खोलेर ८ सय रैथाने र टर्की पालेका छन् ।

प्रतिकात्मक तस्बिर

४५ दिनमै तीन/चार किलो तौल हुने बोइलर कुखुराले स्थानीय जातका कुखुरा लोप हुने क्रममा थिए । रैथाने कुखुराको तौल ढिलो बढ्छ । तीन/चार महिनासम्म पाल्दा बल्ल दुई/तीन किलोको तौल हुन्छ । प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भएपछि उनी रैथाने कुखुरा पालनमै व्यस्त छन् ।

‘वैदेशिक रोजगारीको मोह रैथाने कुखुरा र टर्कीले बिर्सायो,’ उनले भने, ‘हुर्किन नपाउँदै बजारबाट बुकिङ आउँछ । अब यतै कृषि उद्यम गर्छु ।’ उनले गाउँमा अवि श्री कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर कुखुरा पालन व्यावसाय थालेका हुन् । पछिल्लो सयम गाउँमा रैथाने कुखुरा पाल्ने क्रम बढ्दो छ ।

चुत्रावेशीका युवा हेनरी बस्नेतले सन्धिखर्क आँटिकापाटमा ३० रोपनीमध्ये १५ रोपनी बारीमा कुखुराको आहारका लागि मकै, गहुँ लगायत खेती गर्छन् । १० रोपनी जग्गा भाडामा लिएर कुखुरा पालन गरेका छन् ।

प्रकाशित : असार १३, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

एउटै समूहको मकैको बीउ ३८ जिल्लामा

कान्तिपुर संवाददाता

सुर्खेत — गुर्भाकोट नगरपालिका–१२ मेहलकुनास्थित पवित्र बीउ उत्पादन उद्योगमा आबद्ध महिलाहरूले उत्पादन गरेको मकैको बीउ ३८ जिल्लामा जान थालेको छ । उद्योगमा आबद्ध झन्डै ८ सय महिलाले बीउ उत्पादन गर्न थालेपछि भारतबाट मकैको बीउको आयात रोकिएको छ ।

उद्योगले गत वर्ष ३८ जिल्लामा ८० मेट्रिक टन बीउ पठाएको थियो । गत वर्ष २ करोड ४६ लाख रुपैयाँको मकैको बीउ बिक्री भएको उद्योगकी अध्यक्ष चन्द्रकला गुरुङले बताइन् । उनका अनुसार उद्योगले आधुनिक उपकरणमार्फत बीउको वर्गीकरण गरी विभिन्न जिल्लामा मकैको बीउ पठाइरहेको छ । चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँको बीउ बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ छ । उद्योगले रामपुर र अरुण–२ लगायत मकैको बीउ उत्पादन, वर्गीकरण र प्याकेजिङ गरी पठाइरहेको छ । उद्योगले काठमाडौं, बाजुरा, अछाम, सल्यान, रोल्पा, रूपन्देही, कैलाली, जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा बीउ पठाइरहेको जनाएको छ ।

प्रदेश सरकारले बीउमा आत्मनिर्भर बन्ने नीति ल्याएपछि सुर्खेतका अन्य ठाउँमा पनि व्यावसायिक रूपमा बीउ उत्पादन भइरहेको छ । जिल्लामा यो वर्ष साढे ८० टन रामपुर र अरुण–२ हाइब्रिड–१० को बीउ सफल रूपमा उत्पादन गरिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले बताए । उनले सुर्खेत मकैको बीउमा आत्मनिर्भर भइसकेको दाबी गरे । ‘सरकारले सही कार्यक्रम दिनसक्यो र किसानलाई आकर्षित गर्न सकियो भने कृषिबाट परिवर्तन सम्भव छ भन्ने कुरा यहाँका महिलाले पुष्टि गरेका छन्,’ उनले भने, ‘यहाँको बीउ ३८ जिल्लामा जानु सबैका लागि गर्वको कुरा हो ।’ उनले मंगलबार उद्योगलाई सबैखाले बीउ वर्गीकरण गर्ने उपकरण हस्तान्तरण गरे । उक्त उपकरण प्रदेशस्थित कृषि निर्देशनालयले १८ लाख रुपैयाँमा खरिद गरी उद्योगलाई दिएको हो ।

प्रदेश सरकारले केही वर्षदेखि गुर्भाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम सञ्चालन भएको क्षेत्रमा यसभन्दा अघि परम्परागत रूपमा मकै, धान, गहुँ बाली किसानले लगाउँदै आएका थिए । पुरानो तरिकाले खेती गरेका किसानलाई कार्यक्रममार्फत व्यावसायिक बीउ उत्पादनमा लगाइएको प्रदेश कृषि निर्देशक चित्रबहादुर रोकायले बताए । उनका अनुसार ८ सय महिलाले झन्डै १३ सय हेक्टरमा मकै खेती गरिरहेका छन् । निर्देशनालयले ३ वर्षयता कर्णालीमा मकै खेती हुने क्षेत्रफल बढिरहेको जनाएको छ । यो वर्ष कर्णालीमा ८७ हजार ८ सय ७ हेक्टरमा मकै खेती भएको छ भने गत वर्ष २ लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । त्यसमध्ये झन्डै ३ सय १७ टन मकैको बीउ उत्पादन भएको रोकायले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७९ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×