बिनायोजना अढाइ करोड बजेट विनियोजन

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको कोहलपुर नगरपालिकाले वर्षाको समयमा ग्राभेल र ह्युमपाइप आवश्यकता पर्न सक्ने भन्दै बिनायोजना अढाइ करोड बजेट साउनदेखि खर्च गर्ने निर्णय गरेको छ । वर्षाको समयमा हुने बिना योजनाको ग्रेभल कहाँ कसरी गर्ने भन्ने निर्णयमा उल्लेख गरिएको छैन ।

बिनायोजना अढाइ करोड बजेट विनियोजन

कार्यपालिकाको बैठकले नगरपालिकाले हाललाई त्यस्तो आयोजनाको एकिन गर्न नसक्ने अवस्था भएको र यस्तो कार्य आगामी आर्थिक वर्षको साउनदेखि नै गर्नुपर्ने भएकोले योजनामा समेटी बजेट विनियोजन गरी तत्कालका टेन्डर प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । जेठ २८ गते बसेको कार्य समितिको बैठकले साउनमा ग्रेभलका लागि २ करोड र ह्युम पाइप खरिदका लागि ५० लाख बजेट विनियोजन गरेको छ । साउन महिना वर्षामा खर्च गरिने अढाइ करोड बजेट कार्यपालिकाको पूर्वाधार विकास समितिको सिफारिसमा नगर प्रमुखले एकिन गरी हालदेखि ०८० असार मसान्तसम्म खर्च गरिने निर्णय गरिएको छ ।

योजना नै एकिन नगरी साउन महिनामा ग्रेभल र ह्युम पाइपका लागि अढाइ करोड रुपैयाँ नगर प्रमुखको तजबीजमा खर्च हुने गरी कार्यपालिकाले गरेको निर्णयको सर्वत्र आलोचना हुन थालेको छ । नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यको राप्ती सोनारीको राप्ती नदीमा आफ्नै क्रसर र हबलदापुरमा ह्युम पाइप निर्माण गर्ने कम्पनी रहेकोले वर्षा समयको साउनदेखि खर्च हुने गरी बजेट छुट्याइएको विपक्षीहरुको दाबी छ । ‘जनतालाई के योजना चाहिएको हो, त्यो ख्याल नै नगरी छुट्याउने बजेटको हामीले स्वीकार गर्नै सक्दैनौं । अर्को कुरा नगरपालिकालाई कुन स्थानमा के योजना चाहिएको हो त्यो त अग्रिम जानकारी हुन्छ नै,’ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल भन्छन्,‘यो निर्णय नगर प्रमुखले आफ्नो कम्पनीको ह्युम पाइप र ग्राभेल बिक्री गर्ने योजना भएकोजस्तो देखिन्छ । हामीले यसलाई स्वीकार गर्नै सक्दैनौं।’

कार्यपालिकाको बैठकको निर्णय न. ९ को (ख) मा भनिएको छ,‘नागरपालिकाको विभिन्न क्षेत्रमा आकस्मिक रुपमा ग्राभेल तथा ह्युम पाइपको आवश्यकता पर्ने यस्तो स्थान हाल एकिन गर्न नसकिने अवस्था भएको र यस्तो कार्य आगामी साउनदेखि नै गर्नुपर्ने भएकोले ग्राभेलका लागि दुई करोड र ह्युम पाइपका लागि ५० लाख भौतिक पूर्वाधार समितिको सिफारीसमा नगर प्रमुखले यकिन गरी ०८० मसान्तसम्म कार्य सञ्चालन गरिने छ ।’

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बिनायोजनाको बजेट विनियोजन गर्नुभन्दा पनि आवश्यक पर्ने सक्ने भएकाले उक्त निर्णय भइको दाबी गरे । उनले विभिन्न स्थानबाट माग भइरहेकाले नै इबीडिङ प्रक्रियाबाट उक्त निर्णयलाई कार्यान्वयन गर्न इबिडिङ प्रक्रियाबाट टेन्डर आह्वान गरिसकेको बताए । ‘म अरु काममा व्यस्त छु, सबै कुरा बुझ्न नगरपालिकामा आउनु होला,’ उनले भने,‘विगतमा पनि यस्तो निर्णय भएको थियो । अहिले पनि भएको छ ।’ नगरप्रमुख आचार्यलाई सम्पर्क प्रयास गर्दा मोबाइल उठेन ।

प्रकाशित : असार १२, २०७९ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?