कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
घोराही र तुलसीपुर उपमहानगरको बजेट

शिक्षा, स्वास्थ्य र समावेशीकरणलाई प्राथमिकता

दुर्गालाल केसी

दाङ — घोराही र तुलसीपुर उपमहानगरपालिकाको बजेट शिक्षा, स्वास्थ्य र समावेशीकरणलाई प्राथमिकता दिँदै सार्वजनिक भएको छ । दाङका १० मध्ये ९ स्थानीय तहमा शुक्रबार बजेट आएको छ । राप्ती गाउँपालिकामा भने बैठक प्रत्यक्ष प्रसारण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा अझै बजेट सार्वजनिक हुन सकेको छैन ।

शिक्षा, स्वास्थ्य र समावेशीकरणलाई प्राथमिकता

घोराही उपमहानगरपालिकाले २ अर्ब ३२ करोड ९० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये १ अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात ५३ दशमलव ८५ प्रतिशत चालु र १ अर्ब ७ करोड ४९ लाख १० हजार अर्थात ४६ दशमलव १५ प्रतिशत पुँजीगत खर्च रहेको छ । घोराहीले महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, युवा, खेलकुद र कृषिलाई प्राथमिकता दिएको उपप्रमुख हुमाकुमारी डिसीले बताइन् ।

तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालुतर्फ ४७ करोड ७२ लाख ७७ हजार अर्थात २५ दशमलव ५९ प्रतिशत रहेको छ भने पुँजीगततर्फ १ अर्ब ३७ करोड ९७ लाख ७९ हजार अर्थात ७३ दशमलव ९९ प्रतिशत रहेको उपप्रमुख स्यानी चौधरीले बताइन् । स्वास्थ्य तथा पोषण, शिक्षा, युवा, लैंगिक समानता, कृषि, पर्यटन, गरिबी निवारणलाई प्राथमिकतामा राखिएको उनले बताइन् ।

लमही नगरपालिका, गढवा, राजपुर, बंगलाचुली, शान्तिनगर, दंगिशरण र बबई गाउँपालिकामा पनि बजेट सार्वजनिक भएको छ । राप्ती गाउँपालिकामा भने नगरसभा बैठक लाइभ गर्ने कि नगर्ने र वडामा कम बजेट विनियोजन भएको विषयमा विवाद हुादा शुक्रबार अपरान्हसम्म बजेट आउन सकेको छैन । गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले नगरसभा बैठक लाइभ गर्ने योजना बनाए पनि वडाध्यक्ष सहमत हुन सकेका छैनन् । वडाअध्यक्षले वडालाई बजेट कम भएको भन्दै विरोध गरिरहेका छन् । वडाध्यक्षलाई सहमतिमा ल्याएर बजेट सार्वजनिक गर्ने प्रयास जारी रहेको अध्यक्ष बिष्टले बताए ।

प्रकाशित : असार १०, २०७९ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?