मिटर ब्याजमा ऋण दिने दुई जना पक्राउ - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिटर ब्याजमा ऋण दिने दुई जना पक्राउ 

नवीन पौडेल

पश्चिम नवलपरासी — पश्चिम नवलपरासी प्रहरीले मिटर ब्याजमा ऋण दिने दुई जना साहुलाई पक्राउ गरेको छ । जिल्लाका मिटर ब्याजपीडितहरु काठमाडौंमा गएर मर्कामा परेको भन्दै आन्दोलनमा उत्रिएपछि प्रहरीले प्रतापपुरका दुई जना मिटर ब्याजी साहुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका बेलाटारीका ४५ वर्षीय सुनिल बानियाँ र ५० वर्षीय जगदीश बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी ऋषिराम कंडेलले बताए । ‘हामीले निगरानी गरिरहेका थियौँ ।

बिहीबार साँझ उनीहरुकै गाउँबाट नियन्त्रणमा लिएका छौँ,’उनले भने,‘यस विषयमा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौ । ऋणी र मिटर ब्याजमा लगाउने पक्षबीच वास्तविकता बुझेर थप प्रक्रिया अगाडि बढ्नेछ । ’

पक्राउ परेका दुई जना साहुले केही दिन अगाडि परासीमा पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारलाई राजस्व तिरेर मालपोत कार्यालयबाट दुष्टि बन्धक गरेर सरकारी दरमा नै ऋण दिएको दाबी गरेका थिए । उनीहरुले वर्षौंदेखि ब्याज पनि नदिएको र अहिले ऋणी आफै आन्दोलनमा उत्रीएको आरोप लगाएका थिए । जिल्लामा मिटर ब्याज लगाउनेको संख्या निकै धेरै भए पनि पीडितहरु खुलेर नआउँदा पहिचानमा समस्या पर्दै आएको छ ।

प्रकाशित : असार १०, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्

नाटक ऐया ! माया : मानवीय भोगाइको समग्र लय

सुशीला तामा‌ङ

काठमाडौँ — मानवीय जीवनका अनेक भोगाइ र संवेदनालाई रंगमञ्चमा नयाँ रुपमा उतार्न माहिर छन्, रंगकर्मी सुदाम सिके । उनकै निर्देशनमा रहेको ‘ऐया ! माया’ नाटक यतिबेला टेकुस्थित कौसी थिएटरमा मञ्चन सुरु भएको छ । नाटकमा तत्कालीन समय, परिस्थिति र व्यवस्थाले उब्जाएको मानसिक आवेग र छटपटीलाई प्रस्तुत गरिएको छ । यसमा समाज, राजनीति, व्यवस्था, परम्परा, मानवीय अभ्यासलाई शब्दभन्दा शरीरको लय र संगीतले बुझाउने प्रयत्न गरिएको छ ।

नाटकका परिकल्पनाकार तथा निर्देशक सिकेले रंगमञ्चलाई प्रयोगशालाकै रुपमा लिएका छन् । नाटकभित्र कथा त छन् तर ती कथा एकै धारमा बग्ने खालका छैनन् । परम्परागत धारमा बग्ने बग्रेल्ती पात्र, तिनीहरुको हाउभाउसहितको संवाद, झकिझकाउ साजसज्जा र आँखालाई हेरिन्जेल शीलत पार्ने दृश्य नाटकभित्र त्यतिधेरै समेटिएका छैनन् । तर जति समेटिएका ती विशेष लाग्छन् । बनिबनाउ कथा नभएर नै दर्शकले पात्रको विचलन देखेर आफ्नै कथा पनि स्मरण गर्न सक्छन् । सामान्य देखिने मञ्चीय दृश्य, प्रयुक्त न्यून प्रप्स तथा संवादले नाटकमा विशेष अर्थ राख्छन् । थुप्रै परिस्थितिले बाँधिएर मानसिक आवेगमा रुमल्लिएका पात्रले सिंगो मानव समाज र व्यवस्थालाई इंगित गरेका छन् ।

मानिसलाई माया, सुख, सुविधा, शिक्षा, न्याय, समानता, शक्ति सबै चाहिएको छ । त्यसैभित्र उसले आफ्नो खुसी लुटाइरहेको छ । मानिस आफू मात्र होइन सत्ता र शक्तिका लागि अरुलाई पनि लुटाउन तयार छ । यात्रामा कहिले सजिलो, कहिले अप्ठ्यारो, कहिले उकालो र कहिले ओराला बाटा हुन्छन् । उसको परिवरि सबै छन् तर ऊ एक्लो महसुस गर्छ । ऊ फरक चाहन्छ तर एक्लो हुन्छ । ‘के फरक हुनु नै एक्लो हुनु र एक्लो हुनु नै फरक हुनु हो र?’ नाटकले संवादकै रुपमा प्रश्न गर्छ । यी तमाम मानवीय आवेगलाई दर्शकले संगीत र शरीरको लयमा सुन्छन् । जहाँ अन्तरजातीय प्रेमका कारण भेरीमा बगेका नवराज विकहरुदेखि हत्या, बलात्कार, सामाजिक सञ्जालको दुरुपयोग जस्ता घटना छटपटीकै रुपमा आएका छन् ।

मानिसको अभिव्यक्ति केवल आवाज, संगीत जस्ता माध्यम मात्र होइनन् । सिंगो शरीर नै अभिव्यक्तिको सशक्त माध्यम हो भन्ने कुरालाई नाटकले प्रस्ट्याएको छ । थोरै पात्रले मञ्चलाई मात्र होइन सिंगो मानव समाज र मानवीय संवेदनालाई बोकिरहेको भान हुन्छ । हामीले मान्दै आएको दर्शन, आदर्श, नैतिकता र अक्षरहरुले कसरी लय गुमाउँदै छ, भन्ने विषयलाई नाटकले उठान गर्छ । जहाँ अक्षर लडिरहेका छन्, आदर्श र नैनिकता बोकेको मानव नै शून्यतामा हराउँदैछन् । नाटकभित्र देखिने एक फरक पात्रको एकोहोरो हिँडाई, उसको असामान्य लाग्ने लयले नै आजको समग्र मानवको भोगाइलाई प्रतिनिधित्व गर्छ ।

पात्रका आवेग अनुसार प्रयुक्त संगीत, प्रकाश, रंगको संगोजन उत्तिकै सुन्दर छन् । नाटकले खोला, डोरी तथा किताबलाई दिइएको रातो रंगले आक्रोसको लय बोल्छ । जसले मानिसभित्र रहेको भय, त्रास र आक्रोसलाई बिम्बात्मक रुपमा जाहेर गर्छ । मानिसको यात्राको उत्तारचढावलाई देखाउने मेचहरुको प्रयोग उत्तिकै अर्थपूर्ण छन् । सत्ता र शक्ति नियन्त्रणदेखि त्यसैमा हुने अन्त्यलाई देखाउने रातो डोरीको प्रयोग अझ सशक्त छन् ।

समकालीन घटना तथा परिघटनालाई आधार मानेर नै रंगमञ्चमा नौलो खुराक पस्कने हुटहुटीले नाटकसम्मको यात्रा पूरा भएको सिकेले सुनाए । ‘हामीले नौलो प्रयोगका रुपमा हाम्रो कामलाई नाटक भनी अगाडि ल्यायौं’, उनले भने,‘यसलाई नाटक मान्ने कि नमान्ने जिम्मा आम दर्शकहरुलाई नै दिएका छौं । हामीलाई चुनौती र डर भने पक्कै छ ।’ नयाँ प्रयोगात्मक यस्ता खाले नाटकका लागि लामो समय अभ्यासको आवश्यकता परेपनि दुई महिनाको अवधिमा नाटकका रुपमा तयार गरिएको उनले सुनाए ।

अकास नेपाली, आयान खड्का, पवित्र राई, मुक्ति, शिशिर शिवाकोटी र सरिता कठायतको अभिनय रहेको नाटक सोमबार र मंगलबार बाहेक असार ३२ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : असार १०, २०७९ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×