२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सुविना प्रकरणमा पोस्टमार्टम रिपोर्ट भन्छ- 'घाँटी दबाउँदा मृत्यु'

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमाकी धनकुमारी गिरी (सुविना)को घाँटीमा थिचिएका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले 'प्रेसर ओभर नेक'का कारण सुविनाको ज्यान गएको देखिएको रिपोर्टमा बताए ।

पोस्टमार्टम रिपोर्ट आएपछि सुविनाको हत्या भएको दाबी गर्दै आफन्तले कर्तव्य ज्यान मुद्दा दर्ता गराएको केसीले जनाए । सुविनाका बुवा नवलपरासीको कावासोती नगरपालिका–१६ का नरु गिरीले छोरीको हत्या भएको जाहेरी दर्ता गराएका हुन् । सुविनाका श्रीमान् अन्दाजी ३८ वर्षीय संजय र कञ्चन गाउँपालिका–१ घर भई मामा (संजय)को घरमा बस्दै आएका २१ वर्षीय कुसल गिरीलाई मुख्य अभियुक्त बनाई मुद्दा दर्ता भएको हो । बुवा नरु गिरिले गत जेठ ३१ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा ज्यानसम्बन्धी कसुरमा छानबिन गरी कारबाही गरियोस् भनी जाहेरी दिएका थिए । सोही जाहेरीमा थप गरी उनले पूरक जाहेरी बुधबार दर्ता गराएका थिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भएको पोस्टमार्टमपछि आएको रिपोर्टमा चिकित्सकले सुविनाको घाँटी थिचेर, दबाएर मृत्यु भएको र हातको डामसमेत देखिएको बताएपछि सोही रिपोर्टअनुरुप अनुसन्धानलाई अगाडि बढाउन सुविनाका बाबु नरुले प्रहरीसमक्ष आग्रह गरेका छन् । घाँटीमा दबाब परेर सुविनाको मृत्यु भएको देखिएपछि पतिको दाबी झुठो ठहर भएको सुविनाका बुवाले बताए ।

तिलोत्तमा–६ घर भएकी सुविनाको गएको जेठ ३० गते मृत्यु भएको थियो । आफ्नै मिलन रेस्टुरेन्टमा आत्महत्या प्रयास गर्दै झुण्डिएकी सुविनालाई उद्धार गरी तिलोत्तमाकै मणिग्रामस्थित क्रिमसन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको श्रीमान् सञ्जय गिरीले प्रहरीसमक्ष बयान दिएका छन् । सुविनाको भेसेरा रिपोर्ट भने आउन बाँकी छ ।

प्रकाशित : असार ९, २०७९ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?