कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किसानका समस्या सम्बोधन गर्न १२ बुँदे माग

सन्जु पौडेल

तिलोत्तमा — उद्योग व्यापार संगठन, रुपन्देही र संगठनअन्तर्गत कृषि उपसमितिले किसानका समस्या सम्बोधन गर्न १२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र कृषि ज्ञान रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको संगठनका अध्यक्ष अनीलकुमार ज्ञवालीले बताए । 

किसानका समस्या सम्बोधन गर्न १२ बुँदे माग

उपसमितिले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान र कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्देश धिताललाई ज्ञापनपत्र बुझाएको हो ।

रासायनिक मल यथाशीघ्र छिटो उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने; नसकेको अवस्थामा किसानहरूलाई भारतीय बजारबाट सहजतापूर्वक नेपालमा मल ल्याउन दिनुपर्ने; वास्तविक किसानको पहिचान गरी किसान कार्ड उपलब्ध गराउनुपर्ने र अनुदान दिनुपर्ने; किसानको आवश्यकताअनुसार बिउ, मल, औषधि र प्रविधि, उपकरण सहुलियत दरमा उपलब्ध गराउनुपर्ने; सिंचाइका लागि आवश्यक पम्पसेट वा विद्युत्‌बाट चल्ने सबमर्सिवल मोटर तथा अन्य विद्युतीय औजारहरू उपलब्ध गराउनका लागि विद्युत्‌मा विशेष छुट दिनुपर्ने तथा भन्सार गरेर मल खरिद गरी ल्याउने व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको कृषि उपसमितिका संयोजक रामप्रसाद भण्डारीले बताए ।

त्यस्तै बिउ, मल, औषधि र सिंचाइमा किसान कार्डको आधारमा नगद नलिई जिन्सीमा नै अनुदान दिनुपर्ने, कृषि मजदूरहरूको ज्याला निर्धारण गर्नुपर्ने; किसानद्वारा उत्पादित वस्तुको मूल्य निर्धारण र बजारीकरणको व्यवस्था गर्नुपर्ने; उत्पादित वस्तुको लागतमा अनुदान दिने व्यवस्था गर्नुपर्ने; बेमौसमी तरकारी वा फलफूल उत्पादनका लागि आवश्यक व्यवस्था गर्नुपर्ने; किसानलाई आवश्यकताअनुसार समयसमयमा तालिम दिनुपर्ने; अनुदान लिएका किसान वास्तविक किसान हो/होइन भनेर कृषि अनुगमनलाई निरन्तरता दिनुपर्ने; कुन कुन ठाउँमा कुन कुन खेती, तरकारी, फलफूल उत्पादन गर्न सकिन्छ भनेर विज्ञहरूबाट समयसमयमा किसानहरूलाई सल्लाहसुझाव दिनुपर्ने माग रहेको भण्डारीले जनाए । संगठनअन्तर्गत कृषि उपसमितिमा ५ सय कृषकको आबद्धता रहेको छ ।

प्रकाशित : असार ९, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?