कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रुपन्देहीमा बालबालिकालाई ११ गतेदेखि फाइजर खोप

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा असार ११ गतेदेखि ५-११ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी जिल्लाका १ लाख ४४ हजार ८ सय ५५ बालबालिकाका लागि फाइजर खोप लगाइने जानकारी दिएको हो ।

रुपन्देहीमा बालबालिकालाई ११ गतेदेखि फाइजर खोप

११ देखि १५ गतेसम्म जिल्लाका ५ र १५ देखि १८ सम्म बाँकी ११ वटा पालिकामा खोप लगाइने खोप अधिकृत भेषराज शर्माले बताए ।

प्रथम चरणमा जिल्लाका लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकामा र असार १५ देखि १८ गतेसम्म बाँकी बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, सैनामैना नगरपालिका तथा शुद्धोधन, कन्चन, सियारी, कोटहीमाई, गैडहवा, मर्चवारी, सम्मरीमाई र मायादेवी, गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान एक स्थानीय तहमा एकै चरणमा सम्पन्न गरिनेछ । खोपका लागि ६६ वटा केन्द्र, १ हजार ५२ खोप कार्यकर्तासहित १ हजार ८ सय ९२ स्वयंसेवक खटिनेछन् ।

कार्यालयका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन कार्यनीतिअन्तर्गत १२ वर्ष वा सो भन्दा माथिका नागरिकहरुलाई पहिलो श्रृंखलाको छुट खोप र १८ वर्ष माथिका नागरिकहरुलाई बुस्टर मात्रा प्रदान गरिनेछ । त्यस्तै ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुका लागि पहिलो श्रृंखलाको दुई मात्रा खोप प्रदान गरिनेछ ।

बालबालिकालाई जन्मदर्ता वा अभिभावकको सो घोषणाको आधारमा खोप दिइनेछ । खोप लगाउनेमध्ये केही बालबालिकामा जोखिमपूर्ण अवस्था देखिएमा खोप केन्द्रमै रहने गरी चिकित्सक सहितको विशेषज्ञ टोली खटाइने भन्दै शर्माले खोपले बिरामी पार्ने स्थितिमा अस्पताल लगी उपचार गरिने बताए ।

प्रकाशित : असार ९, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?