बाँकेका ७६ हजार बालबालिकालाई फाइजर खोप लगाइँदै

रुपा गहतराज

नेपालगन्ज — पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि बिहीबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप लगाइँदै छ ।

बाँकेका ७६ हजार बालबालिकालाई फाइजर खोप लगाइँदै

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार विद्यालयमै पुगेर बालबालिकालाई खोप दिन लागिएको हो । स्थानीय तह स्वास्थ्य शाखाले तोकेको ८१ वटै वडाका खोप केन्द्रबाट खोप सेवा प्रदान गरिएको छ ।

कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले बाँकेका ७६ हजार २ सय ३९ जना बालबालिकालाई ‘फाइजर बायोएनटेक’ खोप लगाउन लागिएको बताए । ‘जिल्लाका ५ सय ८ स्थानमा खोप केन्द्र राखिएको छऽ,' उनले भने,‘दुई सयभन्दा बढी बालबालिका भएको विद्यालयमै पुगेर खोप लगाउने छौं, त्योभन्दा कम संख्या भएका विद्यालयको हकमा अन्य विद्यालयमा गाभेर लगाइनेछ ।’

विद्यालयका साथै इँटा भट्टा लगायत स्थानमा रहने बालबालिकालाई पनि सम्बन्धित ठाउँमा पुगेर खोप लगाइने श्रेष्ठले बताए । खोप कार्यक्रम असार १५ गतेसम्म चल्नेछ । बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिनेछ ।

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।

यसैगरी विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्व:घोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।

अमेरिकी सहयोगमा मंगलबार दिउँसो ८० हजार मात्रा फाइजर खोप नेपालगन्ज आइपुगेको हो । सरकारले पहिलो चरणमा बाँकेसहित २७ जिल्लामा अभियान सञ्चालन गरेको छ ।

प्रकाशित : असार ९, २०७९ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?