औषधिमा नक्कली म्याद र मूल्य प्रिन्ट गरेर बेच्ने तीन जना पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औषधिमा नक्कली म्याद र मूल्य प्रिन्ट गरेर बेच्ने तीन जना पक्राउ

सन्जु पौडेल

तिलोत्तमा — बुटवलमा एउटा गिरोहले म्याद सकिएका औषधिमा नयाँ मिति राखेर जनस्वास्थ्यमाथि नै खेलबाड गरेको पाइएको छ ।  बुटवलमा औषधिमा नक्कली म्याद र मूल्य प्रिन्ट गर्ने उद्योग फेला परेको छ ।

औषधि व्यवसायी र बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा बुटवल–७ दीपनगरमा त्यस्ता नक्कली प्रिन्ट गरिएको औषधि र पोषणयुक्त खाद्य सामग्रीको भण्डार तथा प्रिन्ट उद्योग फेला परेको हो ।

उक्त उद्योगबाट औषधिमा नयाँ मूल्य राख्ने, म्याद सकिएका औषधिलाई रिप्रिन्ट गर्ने तथा पोषणयुक्त खाद्य पदार्थमा पनि नयाँ मिति र मूल्य कायम गरी बजारमा पठाइएको भेटिएको हो । उक्त कार्यमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रूपमा औषधि तथा पोषणयुक्त सामग्रीको गोदाम गरेर नयाँ मूल्य राखी बिक्रीवितरण गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा बैतडीका २८ वर्षीय प्रकाश भण्डारी, २३ वर्षीय महेश भण्डारी र २६ वर्षीय हरीश भण्डारी रहेका छन् ।

अवैध रूपमा विभिन्न प्रकारका प्रशोधित (औषधि) तथा पोषणयुक्त सामग्री नयाँ मूल्य राख्ने तथा म्याद सकिएको औषधिमा नयाँ मिति राखेर बिक्री भइरहेको सूचनाका आधारमा खानतलासी गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

उनीहरू बस्ने घरकोठामा खानतलासी गर्दा तोकिएको मूल्यभन्दा फरक नयाँ मूल्य कायम गरी लेबल प्रिन्ट गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।

प्रहरीले विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामग्री २ सय कार्टुन र १ थान प्रिन्टिङ मेसिन बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि सार्वजनिक हित स्वास्थ्य सुरक्षा र नैतिकताविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।

प्रकाशित : असार ९, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

टिपरको ठक्करबाट भक्तपुरमा दुई जनाको मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका-८ आदर्शचोकस्थित टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान सवा २ बजे सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर एकापसमा ठक्कर खाएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका १९ वर्षीय निश्चल चौगुठी र सोही मोटरसाइकलमा सवार नामथर वतन नखुलेका २०/२१ वर्षका पुरुषको मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

टिपरको ठक्करबाट सख्त घाइते दुवैको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो । टिपर चालक दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौं सुकेधारा बस्ने ३५ वर्षीय धनबहादुर थोकरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू गरेको जनाएको छ ।

प्रकाशित : असार ९, २०७९ १०:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×