कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वन्यजन्तुले सताएपछि अकबरे र कुरिलो खेती

पाल्पा — बगनासकाली गाउँपालिका–८, बराङ्दीकी देवका बस्यालले दुई वर्षदेखि मकै लगाउन छाडेकी छन् । बाँदर, दुम्सी, मृग, बँदेललगायतका जंगली जनावरले हैरान बनाएपछि खेती गर्न छाडेकी हुन् । त्यही बेला बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको कार्यक्रमअनुसार उनले अकबरे खुर्सानी र कुरिलो खेती थालेकी छन् । पहिलो वर्ष खासै आम्दानी नभए पनि यस वर्ष भने २ लाख ५० हजार रुपैयाँभन्दा बढीको उत्पादन बिक्री हुने उनको अनुमान छ ।

वन्यजन्तुले सताएपछि अकबरे र कुरिलो खेती

अन्य बाली लगाउँदा जंगली जनावरले दुःख दिएपछि यहाँका किसान अकबरे खुर्सानी र कुरिलो खेतीतर्फ आकर्षित भएका हुन् । ‘मकैलगायत अन्य जे खेती लगाए पनि जंगली जनावरबाट जोगाउनै सकिएन,’ देवकाले भनिन्, ‘त्यसपछि अकबरे र कुरिलो खेती गर्न थालेकी हुँ ।’ पालिकाको बराङ्दीमा २ सयभन्दा बढी किसानले कुरिलो र अकबरे खुर्सानी लगाएका छन् । सहकारीले पनि यसमा किसानलाई सहजीकरण गरेको छ । सहकारीमार्फत अकबरे र कुरिलोको पकेट क्षेत्र बनेको छ ।


किसानलाई सुरुमा बुझाउन दुःख भए पनि अहिले आकर्षित भएको सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले बताए । ‘सुरुमा अकबरे र कुरिलो खेती गर्न बजारका विषयमा किसानलाई बुझाउन कठिन भयो,’ उनले भने, ‘अहिले भने अधिकांश किसान हौसिएका छन् । जंगली जनावरबाट जोगाउन सहज भएकाले पनि थप हौसला मिलेको हो । बिक्रीका लागि पनि हामीले नै सहजीकरण गरेका छौं ।’ एउटै किसानले ६ हजारदेखि १५ हजार विरुवासम्म अकबरे खुर्सानी लगाएका छन् । कुरिलो लगाउने पनि उत्तिकै छन् । अकबरे खुर्सानी चाउचाउ कम्पनीलाई बिक्री गर्ने सम्झौता गरेका छन् । तर, कुरिलोका लागि भने अझै बजार अभाव छ । ‘बजारको खोजीमा छौं,’ भुसालले भने ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय र सहकारीले थालेको चक्लाबन्दी कार्यक्रमबाट किसानले फाइदा लिएको परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत दीपक भट्टराईले बताए । अघिल्लो वर्ष ३९ लाखको अकबरे खुर्सानी र ५ लाख बढीको कुरिलो बिक्री गरेका किसान यस वर्ष ९० लाख रुपैयाँभन्दा बढीको बिक्री गर्ने योजनामा रहेको उनले बताए । स्थानीय बजारका साथै थोक मूल्यमा ३ सय रुपैयाँ प्रतिकेजी अकबरे र ५ सय रुपैयाँ प्रतिकिलो कुरिलो बिक्री भइरहेको छ ।

प्रकाशित : असार ९, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?