१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खारेज भएको विद्यालयमा पुनः पढाइ

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–३ छापडाँडाको दुर्गा आधारभूत विद्यालयमा थोरै विद्यार्थी भएको भन्दै नगर शिक्षा शाखाले स्कुल खारेज गर्ने भनेर जानकारी गरायो । शिक्षकलाई पनि स्कुल रोज्न चिठी पठाइयो । स्कुल खारेज भएको गाउँमा हल्ला चलाएपछि अभिभावकले छोराछोरीलाई आधा घण्टा दूरीको अर्को बराहानेटा आधारभूत विद्यालयमा भर्ना गराए । शिक्षकले विद्यार्थी भर्ना अभियान चलाएनन् ।

खारेज भएको विद्यालयमा पुनः पढाइ

शिक्षा शाखाले विद्यार्थी भर्ना गर्न दिएन । शिक्षक दरबन्दी मिलान पनि गरेन । शिक्षक विद्यालयमा हाजिर गर्ने र दिनभर बसेर घर फर्किने मात्र गरिरहे । ‘विद्यार्थी संख्या थोरै भएकाले विद्यालय खारेज हुन्छ भनेपछि भर्ना अभियान चलाएनौं,’ विद्यालयका प्रधानाध्यापक हरिबहादुर खड्काले भने, ‘विद्यालय रोज्न भनेर शिक्षकलाई चिठी पनि आयो । नगरपालिकाले दरबन्दी मिलान गर्न सकेन ।’ दुर्गा आधारभूतमा ३ जना स्थायी, १ बालविकास र एक कार्यालय सहयोगी छन् । नगर शिक्षा शाखाले २०७८ वैशाख १५ गते विद्यालय खारेज गरेको मौखिक रूपमा जानकारी गराएको थियो ।

टुंगो नभएपछि शिक्षकले विद्यालय नजिकैका सिमरन सोमैलाई बालविकासमा भर्ना गरेर पढाए । एक जना विद्यार्थीलाई चार जना शिक्षकले पढाएको भन्दै खबर फैलियो । त्यसपछि सन्धिखर्क–३ का वडाध्यक्ष जमशेर मियाँले विद्यालय अनुगमन गरे । त्यहाँ रहेको विद्यालय खारेज गर्न नहुने भन्दै नगरपालिकास्थित शिक्षा शाखालाई जानकारी गराए । वडाध्यक्ष मियाँ र शिक्षकले घरदैलो गरेर एक सातामा १३ जना विद्यार्थी भर्ना गराए ।

‘शिक्षाका कर्मचारीले १२/१३ जना विद्यार्थी भएपछि स्कुल खारेज हुन्न भनेका थिए, हेरम् अब के हुन्छ,’ खड्काले भने, ‘अनुगमन गरेर केही निर्णय होला । अझै २५ जना विद्यार्थी भर्ना हुँदै छन् ।’ पहिला यही स्कुलमा पढ्ने विद्यार्थी अर्को सामुदायिक स्कुल र बोर्डिङमा गएका थिए । उनीहरूलाई फर्काइरहेको उनले बताए । विद्यार्थी थोरै भएपछि मर्ज भएको जानकारी विद्यालयलाई गराइएको नगर शिक्षा शाखा प्रमुख मञ्जु आचार्यले बताइन् । ‘दरबन्दी मिलानमा आन्तरिक व्यवस्थापनका कारण ढिलाइ भयो,’ उनले भनिन् ।

प्रकाशित : असार ९, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?