बालिकालाई यौन धन्धामा लगाउने दुई पक्राउ

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिकाकी १४ वर्षीया बालिकालाई चाउचाउ, विस्कुट दिएर फकाएर यौन क्रियाकलापमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

नाताले हजुरआमा पर्ने ४० वर्षीया महिला र शितगंगा नगरपालिका–१४ बस्ने २२ वर्षीय ओमप्रकाश न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।

ती महिलाले बालिकाको परिवारलाई कुनै जानकारी नगराई फकाएर आफ्नो घरमा लगेर चाउचाउ, बिस्कुट दिएर बालिकालाई जबर्जस्ती करणी गराई न्यौपानेसित पैसा लिने गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

दुवै जनालाई आइतबार पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार र जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अर्घाखाँची जिल्ला अदालतबाट ६ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कक्षा ६ मा पढ्ने ती बालिका हजुरआमासँग बस्ने, पछिल्लो सयम विद्यालयसमेत जान छाडेकी र घरमा समेत बेलाबेलामा बेपत्ता भई मध्य रातसम्म घरबाहिर रहने गरेको अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ ।

यौन क्रियाकलापबारे कोही कसैलाई जानकारी गराएमा बालिकालाई कुटपिट गर्ने, ज्यान मार्नेसम्मको धम्की दिने गरेको पनि अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ७, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?