कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्वास्थ्य बिमाप्रति आकर्षण देखिएन

हरि गौतम

रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिका–१२ गोल्खाडाका दिलप्रसाद सुनारले आफूसहित परिवारका सबै जनाको स्वास्थ्य बिमा गरे । स्वास्थ्य उपचारमा सजिलो हुने सुनेका सुनारले पैसाको जोहो गरेर बिमा गरेका हुन् । पाँच जना परिवारको २ हजार ५ सय र अरू १ जनाको ४ सय गरी २ हजार ९ सय रुपैयाँ तिरेर गरेको स्वास्थ्य बिमाबाट एक रुपैयाँको उपचार भएन ।

स्वास्थ्य बिमाप्रति आकर्षण देखिएन

सुनारले अर्को वर्ष बिमा नवीकरण गराएनन् । भूमे गाउँपालिका–७ की प्रेमकुमारी बुढाको परिवारले पनि सुनारको जस्तै समस्या व्यहोर्‍यो । सस्तो र सुलभ दरमा भनेकै बेला स्वास्थ्य उपचार पाइन्छ भनेर स्वास्थ्य बिमा गरेको उनको परिवारले पनि स्वास्थ्य बिमा नवीकरण गरेन । आफ्नो पालिका वा जिल्लामा स्वास्थ्य बिमामार्फत उपचार गर्ने विन्दु अर्थात् तोकिएको ठाउँ नभएपछि यो निष्प्रभावीजस्तै भएको हो ।

२०७४ सालको चैतदेखि यहाँ स्वास्थ्य बिमा सुरु भएको थियो । जिल्लामा तीन गाउँपालिका छन् । तीन गाउँपालिकामै कतै पनि बिमामार्फत उपचार गर्ने अस्पताल नभएपछि यसप्रति सर्वसाधारणको आकर्षण घटेको छ । बिमा गरेकाहरूले पनि नवीकरण गर्न मानिरहेका छैनन् । पालिका अस्पताल वा जिल्ला अस्पतालमा बिमामार्फत उपचार नहुने भएपछि कोही पनि यसप्रति आकर्षित भइरहेका छैनन् ।

पुथाउत्तरगंगा गाउँपालिका–१२ का सुनारले घरनजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोललाई उपचारको प्रथम विन्दु तोकेका थिए । तर, कोलबाट बिमामार्फत उपचार सुरु भएन । बिमामार्फत उपचार गर्ने तयारी गरिए पनि यो सफल भएन । फार्मेसीमा भएको औषधिको म्याद सकियो । तर, यो सेवा सुचारु हुन सकेन । गाउँपालिकाले औषधिका लागि विनियोजन गरेको ३ लाख रुपैयाँ पनि अन्यत्रै खर्च गरेको जनाइएको छ ।

जिल्ला अस्पतालबाट पनि यो प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन । जिल्ला अस्पतालमा सशुल्क फार्मेसी नभएर लामो समय अस्पताल र स्वास्थ्य बिमा बोर्डसित सम्झौता भएन । भर्खरै सम्झौता भएको छ तर विमितले सेवा पाउन भने थालेका छैनन् । जिल्ला अस्पतालको फार्मेसी पूर्ण रूपमा सञ्चालनमा छैन ।

यसैले पनि स्वास्थ्य बिमा गरेकालाई सहज भइरहेको छैन । अस्पतालले सशुल्क फार्मेसी बनाएको र सम्झौता पनि भएपछि बिरामीहरू केही आशावादी भने देखिएका छन् । स्वास्थ्य बिमा बोर्डकी दर्ता अधिकारी सपना विष्टले कार्यक्रम सुरु भएको लामो समयसम्म बिमाको उपचार गर्ने विन्दु अर्थात् अस्पताल नहुँदा समस्या भएको बताइन् ।

अब जिल्ला अस्पतालबाट यसको सुरुवात भएकाले बिमा गर्नेहरू बढ्ने आशा गरिएको उनले बताइन् । बिमा बोर्डको कार्यालयमा चार वर्षदेखि उनी एक जना मात्रै कर्मचारी छन् । वडा–वडामा रहेका दर्ता सहयोगी कार्यकर्ता पनि निष्क्रिय छन् ।

जिल्लाका २ हजार ३ सय ७३ इकाइ मात्रै स्वास्थ्य बिमामा आबद्ध भएका छन् । एउटा व्यक्तिमार्फत बिमा गर्नेहरूको एउटा समूहलाई इकाइ भन्ने गरिन्छ । अर्थात् २३ सय ७३ घरधुरी मात्रै बिमामा आबद्ध छन् । जिल्लाभर ६ हजार ६ सय ९ जनाले बिमा गरेका छन् । सबैभन्दा बढी भूमे गाउँपालिकाका २ हजार ४ सय ५१, सिस्ने गाउँपालिकाका २ हजार १ सय ७८ र पुथाउत्तरगंगा गाउँपालिकाका १ हजार ९ सय ७८ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

स्थानीय सरकारले स्वास्थ्य बिमालाई प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेट निर्माण गरे पनि खास आकर्षण भने बढ्न सकेको छैन । भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले यो पाँच वर्षमा स्वास्थ्य बिमामा जोड गरिने बताए । ‘उपचार सजिलो बनाउनेदेखि सबैलाई स्वास्थ्य बिमामा जोडेर सस्तो र सुलभ उपचारको व्यवस्था मिलाउनेछौं,’ उनले भने, ‘सोहीअनुरूप नीति, कार्यक्रम र बजेट बनाउने गरी निर्णय गरेका छौं ।’

प्रकाशित : असार ७, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?