१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लुम्बिनी जिसस निर्वाचन : कांग्रेस पहिलो, एमाले दोस्रो

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसले अधिकांश जिल्लामा जित हात पारेको छ । गठबन्धनबाट नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र भने तेस्रो स्थानमा छ । लुम्बिनी प्रदेशमा गठबन्धन गरे पनि जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले भने जित हासिल गर्न सकेनन् ।

समन्वय समितिमा कांग्रेसले ६ जिल्लामा प्रमुख र ३ जिल्लाको उपप्रमुख पाएको छ भने एमालेले ४ जिल्लामा प्रमुख र २ जिल्लामा उपप्रमुख जितेको छ । त्यस्तै माओवादीले २ जिल्ला प्रमुख र ५ जिल्लामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादीले २ उपप्रमुख जितेको छ । कांग्रेसले रूपन्देही, प्यूठान, दाङ, गुल्मी, बाँके र बर्दियामा जित हासिल गरेको छ । त्यस्तै एमालले पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र अर्घाखाँचीमा जितेको छ भने माओवादी केन्द्रले रोल्पा र रुकुम पूर्वमा जित हासिल गरेको छ ।

रूपन्देहीमा प्रमुखमा कांग्रेसका उमाकान्त चापागाईं र उपप्रमुखमा लोसपाका रामकृपाल धोवी निर्वाचित भए । बाँकेमा प्रमुख/उपप्रमुख दुवैमा कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र सीता कार्की, गुल्मी प्रमुखमा कांग्रेसका द्रोणबहादुर खत्री र उपप्रमुखमा माओवादीका तेजेन्द्र सलामी निर्वाचित भएका छन् । त्यस्तै प्यूठान प्रमुखमा कांग्रेसका धर्मबहादुर जिसी र उपप्रप्रमुखमा माओवादीका दुर्गा रेश्गी, बर्दियाको प्रमुख/उपप्रमुखमा कांग्रेसका सूर्यबहादुर विष्ट र अमीताकुमारी यादव निर्वाचित भएका छन् । दाङ प्रमुखमा कांग्रेसका नित्यानन्द शर्मा र उपप्रमुखमा चेतना चौधरी निर्वाचित भएका हुन् । गठबन्धन बलियो भएका कारण प्यूठान र बर्दियामा एमालेले उम्मेदवारी नै दिएको थिएन ।

त्यस्तै पाल्पा प्रमुख/उपप्रमुखमा एमालेका टंकनाथ खनाल र काशीका गैरे ज्ञवाली निर्वाचित भए । कपिलवस्तु प्रमुखमा बाबुराम आचार्य र उपप्रमुखमा लोसपाका रमेश कुर्मी, अर्घाखाँची प्रमुख/उपप्रमुखमा जीवनारायण कोइराला र लक्ष्मी शर्मा ज्ञवाली विजयी भए । पश्चिम नवलपरासी प्रमुखमा एमालेका रुद्धल यादव विजयी भएका छन् । उनले गठबन्धनलाई पराजित गरेका थिए । त्यस्तै उपप्रमुखमा माओवादीका रामदयाल चौधरी निर्वाचित भएका छन् । एमालेले पाल्पा, अर्घाखाँची र नवलपरासीमा एकल विजय हात पारेको छ । कपिलवस्तुमा लोसपासँग तालमेल गरेको थियो ।

रोल्पा र रुकुम पूर्वमा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । रोल्पा प्रमुखमा सीता आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् भने रुकुम पूर्वको प्रमुखमा मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा मोहनबहादुर केसी निर्वाचित भएका छन् ।

प्रकाशित : असार ६, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?