२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राज्यमन्त्री घटना छानबिन गर्न समिति बनेको जानकारी दिएपछि सदन सुरु

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको छ । आगामी वर्षको बजेट ल्याउन सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको हर्कतबारे आधिकारिक धारणा माग गर्दै अवरोध गरेको थियो । यसपछि सभामुख पूर्णबहादुर घर्तीले २५ मिनेटका लागि सदन स्थगित गरेका थिए ।

प्रदेश सभाको बैठकमा सरकारले घटनाबारे आधिकारिक धारणा प्रस्तुत गर्ने सहमतिमा सभा चलेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आधिकारिक धारणा राख्दै राज्यमन्त्री खत्री प्रकरणको अध्ययन गर्न लुम्बिनी प्रदेश सरकारले छानबिन आयोग गठन गरेको जानकारी दिए । उनले सरकारले जनताको जिम्मा लिएको सरकारले सबै जनताप्रति उत्तिकै जवाफदेयी हुन छानबिन समिति गठन गरेको र त्यसका आधारमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माको संयोजकत्वमा कानुनमन्त्री रमा घर्ती र मुख्य न्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको छानबिन समिति गठन गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री शर्माले समितिलाई १५ दिनभित्र घटनाका विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न भनिएको बताए ।

राज्यमन्त्री खत्रीले मंगलबार बिहान दाङको तुलसीपुरस्थित एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमती र नाबालिका छोरीमाथि कुटपिट गरी कोठाको सामान तानेर छरपस्ट गराइदिएकी थिइन् । राज्यमन्त्री खत्रीविरुद्ध बस्नेतपत्नी मीना बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङमा किटानी जाहेरी दिएकी छन् ।

प्रकाशित : असार १, २०७९ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?