१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

किसानलाई मल, बीउ उपलब्ध गराउन राप्रपा पाल्पाको माग

माधव अर्याल

पाल्पा — राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले किसानलाई मल, बीउ उपलब्ध गराउन, महँगी नियन्त्रणलगायत १९ बुँदे माग समेटिएको ज्ञापनपत्र सरकारलाई पठाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाइएको हो । त्यस्तै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको श्रृंखलाबद्ध मूल्यवृद्धि अविलम्ब रोक्न पनि राप्रपाले माग गरेको छ । 

किसानलाई मल, बीउ उपलब्ध गराउन राप्रपा पाल्पाको माग

राप्रपा पाल्पा अध्यक्ष डुलबहादुर कुँवरले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाई बुझाएको ज्ञापनपत्रमा इम्बोस्ड नम्बर प्लेट खारेजीको माग पनि गरिएको छ । इम्बोस्ड नम्बर प्लेट लागू गर्नैपर्ने भएमा देवनागरी लिपिमा नम्बर प्लेट राख्ने व्यवस्था गर्न माग गरेको छ । संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै उसले नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र घोषणा गर्न माग गरेको छ ।

राप्रपाले राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेको छ । त्यस्तै केन्द्र र स्थानीय गरी दुई तह काम गर्दै संसद्‌को निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । बेरोजगारी समस्या समाधानको निमित्त अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना लागू गर्न माग गर्दै वर्षमा कम्तीमा ५ लाख जनालाई रोजगारी सिर्जना गर्ने गरी दीर्घकालीन आर्थिक विकास योजना संचालन गर्न माग गरेको छ ।

भूमिहीन र घरवारविहीन सुकुम्बासी समस्या समाधन गर्न माग उसले गरेको छ । साथै महिला, बालबालिका, दलित समुदायविरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गर्न पनि माग गरेको छ । स्थानीय तहमा लगाएका अव्यवहारिक करहरु तथा तीन तहका सरकारबाट लगाएको दोहोरो कर तत्काल खारेज गर्नुपर्नेलगायतका माग पनि समेटिएका छन् ।

प्रकाशित : असार १, २०७९ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?