१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सहरमा छैनन् सार्वजनिक धारा

ठाकुरसिंह थारू

नेपालगन्ज — एक दशकअघिसम्म नेपालगन्ज उपमहानगरका विभिन्न स्थानमा पिउने पानीका सार्वजनिक धारा थिए । बटुवा, मजदुर र सर्वसाधारण प्यास लागेका बेला तिर्खा मेटाउँथे । सडक चौडा गर्ने क्रममा सार्वजनिक धारा भत्काइएपछि नेपालगन्जमा मजदुर र बटुवालाई प्यास मेटाउन सकस हुने गरेको छ । अहिले चर्को गर्मीमा रिक्सा चालकलगायत मजदुरलाई पिउने पानीको अभाव हुँदा कष्ट झेल्नु परेको छ ।

सहरमा छैनन् सार्वजनिक धारा

नेपालगन्ज–१२ बेलासपुरका वंशराम चिडिमार सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता आइलागेको सुनाउँछन् । मजदुरलाई आराम गर्ने ठाउँ पनि उपमहानगर क्षेत्रमा छैनन् । ‘गर्मीमा बहुत ज्यादा पानी खान मन लाग्छ । अरूको घरभित्र गएर पानी पिउन सम्भव छैन । पहिले ठाउँठाउँमा पिउने पानीको ट्यांकी बनाइएको थियो तर अहिले छैन,’ उनले भने, ‘प्यासले मुख सुक्खा हुन्छ । होटलमा गएर पानी माग्दा किन्नुपर्ने बताउँछन् । त्यसैले किनेर पानी खानुपर्छ ।’

उनीजस्तै नेपालगन्जमा मजदुरी गर्ने सयौं मजदुरलाई अहिलेको प्रचण्ड गर्मीमा पिउने पानीको समस्या झेल्नुपरेको छ । सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा, ठेला, टाँगालगायत चलाएर जीविका चलाइरहेका मजदुर र बाहिरबाट कामका लागि नेपालगन्ज आएका सर्वसाधारणलाई सास्ती खेप्नुपरेको छ । गत वर्ष रिक्सा मजदुरहरू सार्वजनिक स्थानमा पिउने पानी र सार्वजनिक शौचालयको व्यवस्था गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए । तर, उनीहरूका मागलाई उपमहानगरले सम्बोधन गरेन ।

‘गर्मी मानेर पनि के गर्नू ? परिवार पाल्न जस्तोसुकै गर्मीमा पनि काम गर्नैपर्छ । प्यास लाग्छ । पानी पिउने ठाउँ कहींकतै छैन,’ नेपालगन्ज बजारमा ठेला तान्दै आएका अब्बास अलीले भने, ‘सरकारले कम्तीमा गर्मीका बेला पिउने पानीको व्यवस्था गरिदिए धेरै राहत हुन्थ्यो ।’ गर्मी छल्ने छहारी र पानीको सुलभ व्यवस्था नहुँदा सयौं मजदुर गर्मीमा समस्यामा परेको उनले सुनाए । नेपालगन्जमा अहिले दैनिक ३८–४२ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ ।

नेपालगन्ज उपमहानगरले जाडोयाममा सर्वसाधारण र मजदुरलाई आगो ताप्न निःशुल्क दाउराको व्यवस्था गर्छ । तर, गर्मीमा भने पिउने पानीको व्यवस्था मिलाउनेतर्फ चासो नै नदिएको स्थानीयले बताए । उपमहानगरका सूचना अधिकारी खिमानन्द आर्यालले सर्वसाधारणका लागि सार्वजनिक स्थलमा पिउने पानीको कार्यक्रम नरहेको जनाए । ‘सम्बन्धित शाखामा पिउने पानीबारे जानकारी माग्दा त्यस्तो खासै केहीे कार्यक्रम हामीसँग छैन भन्ने जवाफ आयो । यसका लागि कार्यक्रम ल्याउन आवश्यक देखियो,’ उनले भने ।

भेरी अञ्चल अस्पतालका फिजिसियन डा. संकेत रिसालले गर्मीमा मानिसको शरीर र बाहिरी तापक्रम बढ्ने भएकाले पानीको मात्रा कम हुँदा बढी तिर्खा लाग्ने गरेको बताए । ‘यस्तो गर्मीमा पानी र झोलिलो खानेकुरा बढी खानुपर्छ,’ उनले भने, ‘सर्वसाधारणका लागि नगरपालिकाले ठाउँठाउँमा पिउने पानीको व्यवस्था मिलाउन सक्ने हो भने धेरै राहत हुनेछ ।’ त्यस्तै, गर्मीका कारण अस्पतालमा झाडापखाला, ज्वरो, बान्ता र कलेजोका बिरामी बढेको उनले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?