कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

धमाधम योजना संकलन गर्दै पालिका

टोलटोलबाट आएका योजनालाई एकीकृत गरेर बजेट बनाउने चटारो
नवीन पौडेल

परासी — स्थानीय तहलाई अहिले बजेट निर्माणका लागि भ्याईनभ्याई छ । टोलटोलबाट आएका योजनालाई एकीकृत गरेर वडाले केन्द्रमा पठाएका योजनाको छनोट भइरहेको छ । केही स्थानीय तहले बजेटलाई अन्तिम रूप दिन लागिरहेका छन् भने केहीमा अझै पनि टोल विकास संस्थाहरूमा छलफल भइरहेको छ ।

धमाधम योजना संकलन गर्दै पालिका

रामग्राम नगरपालिकाका वडा–वडामा टोल विकास संस्थाका अध्यक्ष र पदाधिकारीले टोलटोलबाट बजेटको प्राथमिकताबारे छलफल गरेर योजना तयार गर्दै छन् । पहुँचको भरमा बजेट विनियोजन गर्न नहुने र आवश्यकताअनुसार विकास निर्माणका गतिविधिलाई स्थानीयस्तरसम्म पुर्‍याउनुपर्ने विषयमा स्थानीयको जोड छ । नगर प्रमुख धनपत यादवले नगरको चौतर्फी विकासका लागि सबैको राय–सुझाव र नमुना योजना माग गरिएको बताए । ‘अहिले पनि सडक कालोपत्र, ढल निकासका योजना बढी आएका छन्,’ उनले भने, ‘भौतिक निर्माणसँगै सामाजिक, आर्थिक विकास र सुशासनका लागि पनि हामीले ध्यान दिन आवश्यक छ । सोहीअनुसार काम हुँदै छ ।’ चालु आर्थिक वर्षको बजेटमा रामग्राम नगरपालिकाले नयाँ उद्योगलाई दर्ता शुल्क मिनाहाजस्ता कार्यक्रम ल्याएको थियो ।

सुनवल नगरपालिका पनि बजेटको तयारीमा जुटेको छ । बजेटको आकार यसअघिको भन्दा बढाउने वा सोहीअनुसारको सिलिङमा काम गर्ने भन्नेबारे छलफल भइरहेको छ । राजस्व परामर्श समिति र कार्यपालिकाबाट बजेटको आकारबारे छलफल गरेर बजेटलाई अन्तिम रूप दिने नगर प्रमुख विमला अर्यालले बताइन् । ‘यसअघिका लोकप्रिय कार्यक्रम र बहुवर्षीय विकास योजनालाई निरन्तरता दिएर जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बजेट ल्याउने तयारी गरेका छौं,’ उनले भनिन्, ‘बजेटको आकार ठूलो भन्दा पनि कार्यान्वयन गर्न सकिने र नगरवासीले अनुभूति गर्ने कार्यक्रम ल्याउने छौं ।’ नगरपालिकाले यसअघिको बजेटमा सुत्केरीलाई ५ हजार भत्ता, मृत्यु संस्कारमा किरिया खर्चलगायतका लोकप्रिय कार्यक्रम ल्याएको थियो ।

सर्वसाधारणले भने नगर प्रमुख, उपप्रमुख र टाठाबाठाले बजेट आफूअनुकूल निर्माण गर्ने गरेको आरोप लगाउने गरेका छन् । वडामा विनियोजन हुने बजेट पनि पहुँचका आधारमा विनियोजन हुने गरेको उनीहरूको भनाइ छ । बर्दघाट नगरपालिका–४ का शिशिर लुर्इंटेलका अनुसार आफ्ना पार्टी र आसेपासेका योजना समावेश गरेर दिगो विकासलाई ध्यानमा नराखी बजेट निर्माण गर्दा समस्या बढ्दो छ ।

‘बजेट निर्माणको वैज्ञानिक पद्धति हुन्छ । केन्द्र, प्रदेश र स्थानीय तहको आर्थिक हैसियतअनुसार बजेट निर्माण गर्ने हो तर त्यस्तो भएको पाइँदैन,’ उनले भने, ‘बजेटलाई कनिका छरेजस्तो गरेर स–साना योजना बढी बनाउँदा समस्या छ । दिगो विकासभन्दा पनि कार्यकर्ता रिझाउन जनप्रतिनिधि तल्लीन छन् ।’

प्रकाशित : जेष्ठ ३०, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?