जिसस दाङमा गठबन्धनको एकल उम्मेदवारी

दुर्गालाल केसी

दाङ — जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनको एकल उम्मेदवारी परेको छ । जेठ २९ गते हुने निर्वाचनका लागि बुधबार कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुले मात्रै मनोनयन दर्ता गरेका छन् । एमालेलगायतका अन्य दलले मनोनयन दर्ता गरेनन् ।

जिसस दाङमा गठबन्धनको एकल उम्मेदवारी

गठबन्धनबाट प्रमुख र उपप्रमुखसहित ६ सदस्य कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले २ सदस्यमात्र पाएको छ । प्रमुखमा कांग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी परेको छ । शर्मा राप्ती गाउँपालिका ७ बाट सदस्यमा निर्वाचित भएका थिए । उपप्रमुखमा कांग्रेसकै चेतना चौधरीले उम्मेदवारी दिएकी छन् । उनी बबई गाउँपालिका ७ बाट सदस्यमा निर्वाचित भएकी थिइन् ।

कांग्रेसबाट खुला सदस्यमा कुलबहादुर बुढा, महिला सदस्यमा हरिदेवी पोखरेल, कल्पना शेर्पाइली, जुनकुमारी बुढा र कल्पना शेर्पाइली तथा दलित महिला सदस्यमा सरस्वती नेपालीले उम्मेदवारी दिएका छन् ।

खुला सदस्य बुढा लमही नगरपालिका ७ बाट सदस्यमा निर्वाचित भएका हुन् । महिला सदस्य पोखरेल घोराही उपमहानगरपालिका ९ बाट, शेर्पाइली घोराही १३ बाट, बुढा घोराही १४ बाट र दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका १४ बाट सदस्यमा निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका तर्फबाट खुला सदस्यमा टोपाराम चौधरी र दुर्पति चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । टोपाराम दंगिशरण गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएका हुन् । दुर्पति राप्ती गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।

जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले १ नगरपालिका र ४ गाउँपालिकामा प्रमुख, उपप्रमुख र दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले तीन गाउँपालिकामा अध्यक्ष जितेको छ । एमालेले २ उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका साथै १ गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?