स्थानीय सरकार संचालनबारे लुम्बिनीमा गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल


रूपन्देही — स्थानीय सरकारमा निर्वाचित नयाँ नेतृत्वका लागि आगामी कार्यदिशा र प्राथमिकताका विषयमा छलफल सुरु भएको छ । गाउँपालिका राष्ट्रिय महासंघले लुम्बिनी प्रदेशका निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्थानीय सरकार संचालनका विषयमा आइतबार बुटवलमा अन्तरक्रिया एवं छलफल गरेको हो ।


छलफलमा स्थानीय सरकारबाट अहिलेसम्म भएका उपलब्धि र आगामी प्राथमिकताका विषय, संघीय खानेपानी मन्त्रालय र प्रदेश पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयले स्थानीय तहमा खानेपानी तथा सरसफाई क्षेत्रका नीति, कानुन र कार्यक्रममा सम्बन्धमा छलफल भएको थियो ।
छलफलमा सहभागी स्थानीय तहका नयाँ जनप्रतिनिधिले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय महासचिव बंशलााल तामाङ, महासंघका केन्द्रीय सदस्यहरु, लुम्बिनी प्रदेशका ७३ वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको सहभागिता रहेको गाउँपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष मधुकृष्ण पन्तले बताए ।
कार्यक्रममा स्थानीय सरकारले गर्नु पर्ने काम र अधिकारका विषय उल्लेख भएको पात्रो एवं त्यसको मोबाइल एप पनि सार्वजनिक गरिएको थियो । स्थानीय शासन प्रक्रिया सबलीकरणका लागि गाउँपालिका राष्ट्रिय महासंघले अहिलेसम्म खेलेको भूमिका र आगामी कार्यदिशा तथा स्थानीय सरकारको उपलब्धि र आगामी प्राथमिकताका विषयमा छुट्टाछुट्टै कार्यपत्र पनि प्रस्तुत गरिएको गाउँपालिका महासंघको केन्द्रीय कार्यालय प्रमुख राजेन्द्रप्रसाद प्याकुरेलले बताए ।