कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेको मदरसामा चक्कु प्रहारबाट घाइते विद्यार्थीको मृत्यु 

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नेपालगन्जस्थित फूलटेक्रामा रहेको मदरसा फैजाने मदिनामा अध्ययनरत दुई विद्यार्थीबीच चक्कु हानाहान हुँदा एक जनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका आफ्नै साथीले चक्कु रोपिँदा घाइते भएका मदरसामा अध्ययनरत कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको उपचारको क्रममा भारतमा मृत्यु भएको हो ।

बिहीबार साँझ ५ बजे मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मो. आशिक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाको देब्रे छातीमा रोपिँदा मुटुमा चोट लागेको थियो । घाइते अवस्थामा उपचारका लागि भारतको लखनउ पुर्‍याइएका मियाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ‘उपचारको क्रममा रहेका मियाँको शुक्रबार राति १० बजे नै मृत्यु भएको रहेछ,’ प्रहरी नायव उपरीक्षक न्यौपानेले भने,‘प्रहरीलाई शनिबार बिहानमात्र यसको जानकारी आएको हो ।’

प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सीसीटीभी फुटेजमा दुवैले छातीले एक अर्कालाई धकेलाधकेल गर्दै गर्दा मियाँलाई आशिकले देब्रे छातीमा चक्कु प्रहार गरेको देखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । मदरसाको तर्फबाट पनि घटनाबारेमा जानकारी गराइएको छैन ।

घटनामा संलग्न रहेका बालक प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीका अनुसार पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाइएको छ । आफन्तबाट किटानी जाहेरी लिएर प्रहरी अनुसन्धान अघि बढाइने प्रहरी नायव उपरीक्षक न्यौपानेले जनाए ।

प्रकाशित : जेष्ठ १४, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?