रोल्पाका ७२ मध्ये २ वडामा महिला अध्यक्ष 

एउटामा दलित अध्यक्ष निर्वाचित
काशीराम डाँगी

रोल्पा — रोल्पाका १० वटा तहका ७२ वटामध्ये २ वटा वडामा मात्रै महिलाको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएका छन् । तीन ठूला दलमध्ये माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेका दुई महिला निर्वाचित भएका हुन् । 

पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका ३ बुढागाउँ लिङदुङकी तिला वली डाँगीले पुरुष उम्मेदवारलाई पराजित गर्दै जित हासिल गरेकी हुन् । तिलाले ४ सय ७० मत पाएर विजयी बनिन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बालाराम डाँगीले २ सय ६८ मत ल्याए । अघिल्लो पटक ८१ मतान्तरले पराजित भएकी उनले पुनः टिकट पाएपछि यो पटक भने जित हासिल गर्न सफल भइन् ।

‘संयोग पनि अचम्मको मिल्यो’, तिला भन्छिन्, ‘मेरो प्रतिद्वन्द्वी नाताले जेठाजु पर्ने उम्मेदवार हुनुभयो । म माओवादी केन्द्रबाट र जेठाजु कांग्रेसबाट उम्मेदवार थियौं । फरक पार्टीबाट उही पदमा जेठाजु-बुहारी निर्वाचनको मैदानमा होमियौं ।’ वडाध्यक्ष बन्न शिक्षण पेशाबाट राजीनामा दिएर उम्मेदवार भएका जेठाजु बालारामलाई उनले २ सय २ मतान्तरले पराजित गरिन् ।

करिब १२ वर्षसम्म शिक्षक बनेकी तिला र बालारामले एउटै विद्यालयमा पढाएका थिए । विद्यार्थी राजनीतिबाट माओवादीमा आबद्ध भएकी उनका पति पनि शिक्षक हुन् । विजयी भएपछि टिकट दिने पार्टी र मतदान गर्ने जनतालाई उनले धन्यवाद दिएकी छन् । महिलाका समस्यालाई नजिकबाट बुझ्दै समाधान गर्दै जाने उनको धारणा छ । उनी माओवादी केन्द्र गाउँ कमिटीकी कोषाध्यक्ष समेत हुन् ।

वडाध्यक्षमा निर्वाचित हुने अर्की महिला हुन्‚ तुलसी पुन मगर । माओवादी केन्द्रका तर्फबाट उनी रुन्टीगढी गाउँपालिका ८ झेनामकी वडाध्यक्ष बनिन् । उनी पनि पुरुष उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन् । तुलसीले ३ सय ९३ मत पाइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका खिम रोकामगरले ३ सय १७ मत ल्याए । उनले महिला, जनजाति र पछि पारिएकाहरूको पक्षमा काम गर्ने बताइन् । ‘महिलाले पनि केही गर्न सक्छन् भन्ने ठानेर मप्रति विश्वास गर्ने जनतालाई धन्यवाद दिन चाहन्छु‚’ उनले भनिन् ।

यस्तै सबै वडामध्ये एउटामा मात्रै दलित वडाध्यक्ष निर्वाचित भएका छन् । रोल्पा नगरपालिका ५ मा वडाध्यक्षका रुपमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका टोपबहादुर नेपाली विजयी बनेका हुन् । कांग्रेसका नन्दबहादुर महरालाई पराजित गरेर विजयी भएका हुन् । नेपालीले ४ सय ९५ मत ल्याए भने महराले ४ सय ३ मत ल्याएका थिए । उनी दोस्रोपटक वडाध्यक्ष निर्वाचित भएका हुन् । माओवादी केन्द्रसहित केही साना दलले विभिन्न पदमा दलितलाई उम्मेदवार बनाएका थिए । अनिवार्य उम्मेदवार बाहेक अन्य पदमा दलित निर्वाचित भएनन् ।

प्रकाशित : जेष्ठ १४, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने अदालतको निर्णय विवेकसम्मत भएन : पौडेल

'अदालतले पुनरावलोकन गर्नुपर्छ । सरकारले पनि आफ्नो कुरा जस्टिफाई गरेर अदालत र जनतालाई बुझाउनु पर्छ । यो निर्णय विवकेसम्मत भएन, अदालतले निर्णय सच्याउनु पर्छ । सर्वोच्चका माननीय न्यायाधीशहरू उतै गएर हेर्नुहोस् न देख्नुहुन्छ नि !'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई विवेकसम्मत नभएको बताएका छन् । वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि त्यसकै नमूना भएको बताएका हुन् । 

पौडेलले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरावलोकन गर्नुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थल बाहेक अन्य हुन नसक्ने जिकिर गरेका छन् । उनले निजगढ विमानस्थल बनाएपछि काठमाडौंको एयर ट्राफिकमा भएको समस्या पनि समाधान हुने बताए ।

निजगढ विमानस्थल बनाउनका लागि सरकारले अर्बौं रुपैयाँ खर्च गरिसकेको र साथमा काठमाडौंलाई मधेससँग जोड्ने द्रुतमार्गसमेत बनिरहेको भन्दै निजगढ विमानस्थलको अर्को विकल्प निजगढ नै भएको उनको भनाइ थियो । सर्वोच्चले सीमित व्यक्तिहरूले दिएको निवेदनको आधारमा विमानस्थल बनाउन रोक लगाएको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले आफूले विमानस्थलको प्रत्यक्ष अवलोकन गरिसकेको र त्यहाँको वतावरण मास्नुपर्ने आवश्यकता अहिले नरहेको पनि स्पष्ट पारेका छन् । उनले विमानस्थलका लागि जंगल फँडानी गर्ने काम पहिल्यै भइसकेको र अहिले त्यहाँ बसेको बस्तीलाई सारेर विमानस्थल निर्माण गर्न मात्रै बाँकी रहेको बताए । ‘सर्वोच्च अदालतका कतिपय निर्णयहरू देशको विकासको आवश्यकतालाई नजरअन्दाज गरेर त्यहाँको वास्तविकतालाई महसुस नगरिकन नै गरिएका निर्णयहरूले गर्दा नेपालको विकासमा बाधा पर्दै आएको हो ।

कताकता अदालतका निर्णयहरू विकासका लागि बाधक बन्दै आएको पहिलेका उदाहरण पनि छन् । अहिलेको उदाहरण पनि त्यो रुपमा आएको छ,' उनले भने, 'किनभने अहिले जुन वातावरणको कुरा गरिएको छ । वन संरक्षणको कुरा अघि ल्याइएको छ; मैले घटनास्थलमै गएर हेरेको छु, अब एयरपोर्ट बनाउनका लागि एउटा रुख पनि काट्नुपर्दैन, अलरेडी वन सकिइसकेको छ । बस्ती बसिसकेको छ । वन मासेर बस्ती बसिसकेको छ । अब त्यो बस्तीलाई सारेर त्यहाँ एयरपोर्ट बनाउनु छ ।'

अदालतको निर्णय र विमानस्थल निर्माणको धरातलीय यथार्थता मेल नखाने पौडेलको भनाइ थियो । 'यो अदालत, कानुन, अक्षर मात्रै हेरेर अदालतले निर्णय गर्दा त्यहाँको रियालिटीसँग मेल खाएन । त्यहाँको यथार्थतासँग मेल खाएन । यो फैसला सरासर अवास्तविक भयो । अन्यत्र भनिएको छ । तर यो ठाउँमा अर्बौंको बजेट लगानी गरेर फास्टट्र्याक बनाएर काठमाडौंलाई जोड्ने, र त्यो ठाउँमा ठूला जहाजहरू त्यहाँ आएर सहजै अवतरण गर्न सक्छन्,' उनले भने, 'अर्को कुरा काठमाडौंको एयर ट्राफिकको जुन समस्या छ, त्यो समस्याबाट त्यसले मात्रै राहत दिन्छ । त्यो समस्याको निकास निजगढको एयरपोर्टले नै दिन्छ । काठमाडौंको उच्चतम विकल्पको रुपमा निजगढ बाहेकको ठाउँ छैन । यो नै उपयुक्त ठाउँ हो, त्यहाँ लगेर खुरुक्क डोजर लगाएर एयरपोर्ट बनाउन थाले हुन्छ, रुख काट्न जानै पर्दैन ।'

निजगढ विमानस्थलमा कति रुख काट्ने भन्ने विषयमा अनावश्यक चलखेल भइरहेको पनि पौडेलको भनाइ थियो । 'यो चलखेलको कुनै आवश्यकता छैन । चलेखललाई रोक्नुपर्छ । यो विवेकसम्मत निर्णय होइन । बाँकी जंगललाई तारबारले बाँधेर जोगाउनुपर्छ । अदालतले पुनरावलोकन गर्नुपर्छ । सरकारले पनि आफ्नो कुरा जस्टिफाई गरेर अदालत र जनतालाई बुझाउनु पर्छ । यो निर्णय विवकेसम्मत भएन; अदालतले निर्णय सच्याउनुपर्छ,' उनले भने, 'सर्वोच्चका माननीय न्यायाधीशहरू उतै गएर हेर्नुहोस् न देख्नुहुन्छ नि ! जंगल बचाउन प्रशासन सक्रिय हुनुपर्छ । मिलेमतोमा देशको सारा जंगल तस्कर गराउनु भएन ।’

वरिष्ठ नेता पौडेलले विमानस्थल बनाउने भनिएको स्थानमा बाँकी रहेको जंगललाई जोगाउन सरकार सक्रिय रहनुपर्ने बताए । उनले सर्वोच्च अदालतले गरेको यो निर्णयले देशको विकासको बाटोमा ठूलो अफ्ठ्यारो पार्ने र यस्ता निर्णय हुने हो भने सरकारले काम गर्न नपाउने बताए ।

सर्वोच्च अदालतको वृहत् पूर्ण इजलासले बिहीबार बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भनेर आदेश दिएको थियो । उक्त आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ १४, २०७९ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×