रम्भा गाउँपालिकामा एक लाख रुपैयाँबराबरको नि:शुल्क दुर्घटना बिमा


पाल्पा — पाल्पाको रम्भा गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने सबैको नि:शुल्क दुर्घटना बिमा गरिदिने भएको छ । जिल्ला तथ्यांक कार्यालयका अनुसार गाउँपालिकामा १७ हजार ७७ जनसंख्या रहेको छ ।


गाउँपालिकामा अध्यक्षमा विष्णुप्रसाद भण्डारी र उपाध्यक्षमा राधाकुमारी श्रेष्ठ पुन: निर्वाचित भएका हुन् । उनीहरुले पदभार ग्रहण गरेसँगै सबै जनताको नि:शुल्क दुर्घटना बिमा गर्ने निर्णय गरेका हुन् । अध्यक्ष भण्डारीले पालिकाका सबै जनतालाई एक लाख रुपैयाँको दुर्घटना बिमा गर्ने निर्णय गरेको जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका व्यक्तिले अस्पतालमा उपचारबापतको एक लाख रुपैयाँसम्म पाउने छन् । मृत्यु भएमा घरपरिवार आफन्तलाई एक लाख रुपैयाँ गाउँपालिकाले प्रदान गर्ने निर्णय भएको अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले निकालेको तथ्यांकमा भने २५ हजार ९ सय ९० जना जनसंख्या देखिएको छ । रम्भा गाउँपालिकाका अध्यक्ष भण्डारी र श्रेष्ठ २०७४ को निर्वाचनमा पनि जित हासिल गरेका थिए ।
रम्भाले पालिकाभित्रका सबै बालबालिकालाई विद्यालयसम्मको पहुँच पुर्याउन, शिक्षकहरुको विद्यालय तथा विद्यार्थीप्रति लगाव बढाउन सबै विधार्थी, शिक्षक तथा कर्मचारीहरुको पनि दुर्घटना बिमा गरेको थियो ।
अध्यक्ष भण्डारीले एकल पुरुषहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने निर्णय गरेको बताए । पालिकाले कार्यविधि बनाएर सबै एकल पुरुषहरुलाई मासिक भत्ता उपलब्ध गराउने उनले बताए । महिला तथा ७० वर्षमाथिका जेष्ठ नागरिकलेमात्र सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।
प्रकाशित : जेष्ठ १३, २०७९ ११:१८