काभ्रे — स्थानीय तह निर्वाचन २०७९ मा काभ्रेमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्रका कतिपय उम्मेदवारको जमानत जफत भएको छ ।
काभ्रेका १ सय ३५ वडाका ७ सय १ पदका लागि उम्मेदवार बनेका २ हजार ५ सय ४ मध्ये ९ सय २४ जनाको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार ३६ दशमलव ९० प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो । कुल सदर मतको १० प्रतिशत मत प्राप्त नहुने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी लगायत अन्य केही दल र स्वतन्त्र उम्मेदवारहरुको जमानत जफत भएको हो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलको वडातहका उम्मेदवारको पनि जमानत जफत भएको छ ।
धुलिखेलमा गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार दयासागर श्रेष्ठको जमानत जफत भएको छ । सदर भएको ३५ हजार ६ सय २ मतमध्ये श्रेष्ठले १ हजार ८ सय १९ मत मात्रै पाएका थिए । यो कुल सदर मतको ५ प्रतिशत मात्रै हो ।
गठबन्धन गर्ने पार्टीको निर्णय विरुद्ध नगर प्रमुखमा उम्मेदवारी दिएका कांग्रेस नगर सभापति विदुर बहादुर बस्नेतले ७ हजार ४ सय ११ मत प्राप्त गरी दोस्रो भएका थिए । नगर प्रमुखमा निर्वाचित एमालेका अशोककुमार व्याञ्जु श्रेष्ठले ८ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए ।
महाभारतमा एकीकृत समाजवादी तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार धनबहादुर आलेले पनि जमानत गुमाएका छन् । ११ हजार ८ सय ६८ सदर मतमध्ये आलेले २ सय ३५ मत मात्रै पाएका थिए । गठबन्धन गर्ने पार्टीको निर्णय भएपनि उनको उम्मेदवारी कायम नै रहेको थियो । अध्यक्षमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई सघाएको थियो ।
अध्यक्ष वा प्रमुख पदमा उम्मेदवारी दिएका ७६ जनामध्ये ५१ जनाको जमानत गुमाएका छन् । यस्तै उपाध्यक्ष र उपप्रमुखमा उम्मेदवारी दिएका ४९ मध्ये १३ जनाले जमानत गुमाएका छन् । वडाअध्यक्षमा उम्मेदवार बनेका ५ सय ७१ जनामध्ये २ सय ६२ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकारी उमेश कुमार राईले जानकारी दिए ।
जमानत जफत भएको अवस्थामा उम्मेदवारी दर्ता गर्दा बुझाएको शुल्क फिर्ता हुँदैन । निर्वाचन आयोगले नगरपालिका प्रमुख/उपप्रमुखका लागि १ हजार ५ सय, गाउँपालिका अध्यक्ष/उपाध्यक्षका लागि १ हजार र वडाअध्यक्षको लागि ५ सयका दरले शुल्क निर्धारण गरेको थियो ।
प्रकाशित : जेष्ठ १२, २०७९ २०:०४