बाँकेका ८१ वडामध्ये २ वडामा मात्रै महिला नेतृत्व- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेका ८१ वडामध्ये २ वडामा मात्रै महिला नेतृत्व

नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामा महिला नेतृत्व शून्य
ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको स्थानीय तहका वडाध्यक्षहरुमा महिला सहभागिता न्यून देखिएको छ । यहाँका ८ स्थानीय तहका ८१ वडामध्ये दुई वटा वडामा मात्रै महिला वडाध्यक्ष बन्ने अवसर पाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेका २३ वडाका अध्यक्षमा महिला सहभागिता शून्य छ । सत्तारुढ गठबन्धन र नेकपा (एमाले) ले महिलाहरुलाई वडाध्यक्षका रुपमा उम्मेदवार नबनाएपछि वडाको निर्णय तहमा महिला सहभागिता हुन नसकेको हो ।

तर, कोहलपुर नगरपालिकाको वडा नं ११ मा एमालेको तर्फबाट उम्मेदवारी दिएकी कल्पना अधिकारी र वडा नं १० मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी गौरा प्रसाई वडाध्यक्ष बन्न सफल भएका छन् ।

‘पार्टीले विश्वास गरेर उम्मेदवार बनाएपछि वडाध्यक्षको नेतृत्व जनताले दिएका छन् । महिलाहरुको अधिकारलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने छु,’ नवनिर्वाचित वडाध्यक्ष अधिकारी भन्छिन् ।

नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकाको ६ वडा, कोहलपुरसँग जोडिएको बैजनाथ गाउँपालिकाको ८, खजुरा गाउँपालिकाको ८ वडा, डुडुवा गाउँपालिकाको ६, नरैनापुर गाउँपालिकाको ६ र राप्ती सोनारीको ९ वडामा पुरुषको नेतृत्व आएको छ ।

२०७४ को निर्वाचनमा बाँकेको ८१ वडामा वडाध्यक्षमा महिलाको सहभागिता शून्य थियो । नेपाली कांग्रेसकी नेतृ तथा नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापा मगरले महिलालाई राजनीतिमा अवसर नदिँदा वडाको नेतृत्वबाट बञ्चित हुनु परेको प्रतिक्रिया दिइन् । तर महिलाहरुलाई अवसर दिएको खण्डमा वडा मात्रै नभएर पालिकाको प्रमुख भएर काम गर्नसक्ने क्षमता रहेको उनको भनाइ छ।

राजनीति शास्त्रका प्राध्यापक डा. जर्नादन शर्मा आचार्य भने प्रमुख राजनीतिक दलहरुले महिला समावेसीको मुद्दा जति नै उठाए पनि व्यवहारमा कार्यान्वयन नभएको बताउँछन् । ‘पदका लागि पुरुष नेताहरुबीच प्रतिस्पर्धा छ । महिलाले कहाँबाट अवसर पाउने ?,’ उनले प्रश्न गरे।

प्रकाशित : जेष्ठ १२, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्

अफगानिस्तानमा बम विस्फोटबाट १६ को मृत्यु

रासस/एएफपी

काठमाडौँ — अफगानिस्तानमा यात्रुवाहक मिनीबस र एउटा मस्जिदमा भएका श्रृंखलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार २४ घण्टाको अवधिमा विभिन्न चारवटा बम विस्फोट भएका हुन् । विस्फोट बुधबार र बिहीबार विभिन्न समयमा भएका हुन् ।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले थप संकट निम्त्याउन सक्ने बताइन्छ । उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेकोमा तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनीबसमा बम रहेको बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले एएफपीलाई बताए । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० मध्ये तीन जना महिला रहेको जानकारी दिए । यस विस्फेटमा परी अन्य १५ जना घाइते भएको बताइएको छ ।

विस्फोटको केही घण्टापछि इस्लामिक समूहले सामाजिक सञ्जालमा मिनीबस हमलाको जिम्मेवारी लिएका छन् । साथै राजधानी काबुलको एक मस्जिदभित्र बुधबार अबेर राति अर्को बम विस्फोट भएको छ । बिहीबार बिहानै काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले उक्त विस्फोटमा ६ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको जनाएका छन् ।

अफगानिस्तानमा अप्रिल ३० मा समाप्त भएको रमजानको पवित्र महिनामा मुख्यतया साम्प्रदायिक आक्रमणहरूमा काबुल र अन्य सहरहरूमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको थियो । जसमध्ये केही आइएस समूहले दाबी गरेको थियो ।

अप्रिल २९ मा काबुलको सुन्नी मस्जिदमा धार्मिक अनुष्ठान गरिरहेका अल्पसंख्यक सुफी समुदायका सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । गत अप्रिल २१ मा मजार–ए–शरिफस्थित एउटा शिया मस्जिदमा भएको बमले कम्तीमा १२ जना उपासकहरूको ज्यान गएको थियो अन्य धेरै घाइते भएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७९ १५:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×