१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

एमाले पार्टी कार्यालय गुलरियामा तालाबन्दी

कमल पन्थी

बर्दिया — स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाहीमा परेका एमाले नेता, कार्यकर्ताले बुधबार पार्टी कार्यालय, गुलरियामा ताला लगाएका छन् । पार्टी कार्यालयमा नेतृत्व पक्षले ताला लगाएको भन्दै कारबाहीमा परेकाले मूलगेटमा दुई वटा ताला लगाएका छन् ।

एमाले पार्टी कार्यालय गुलरियामा तालाबन्दी

स्थानीय निर्वाचनमा प्रमुखलगायत पदको उम्मेदवारविरुद्ध भ्रम सिर्जना गराई मतदातालाई पार्टी निर्णयविपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ जनालाई कारबाही गरिएको थियो । केहीलाई स्पष्टीकरण सोध्ने, निलम्बन गरिएको र पार्टीको साधरण सदस्य नरहने गरि कारबाही गरिएको एमाले जिल्ला कमिटी सचिव पदम ढकालले बताए । बारबर्दिया र गुलरियाका एमालेका नेता र कार्यकर्ता कारबाहीमा परेका छन् ।

बढैयाताल गाउँपालिकाको हकमा कारबाही प्रक्रिया चाँडै अघि बढाइने सचिव ढकालले जनाए । बुधबार पार्टी कार्यालय नखुले पनि बिहीबारबाट नियमित खुल्ने एमालेले जनाएको छ । तर निलम्बित नगर ईन्चार्ज धनेशकुमार यादवले कारबाहीबारे छलफलका लागि पार्टी कार्यालय पुग्दा अध्यक्षदेखि कार्यसमितिका सदस्य नआएको र पार्टी कार्यालयमा ताला लगाएको बताए । उनले छलफलको वातावरण नभएसम्म तालाबन्दी जारी राख्ने जनाए । गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा स्थानीय निर्वाचनमा पराजित भएको थियो । पार्टीका जिल्लास्तरीय नेताले अन्तर्घात भएको कारण चुनावमा पराजय भएको आरोप लगाएर कारबाही गरेको जनाइएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?