३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

विपक्षीलाई सघाएको आरोपमा कारबाही

बर्दिया — एमालेले स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ जनालाई कारबाही गरेको छ । केहीलाई स्पष्टीकरण सोध्ने र केहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले जिल्ला कमिटी सचिव पदम ढकालले बताए ।

पार्टीका जिल्लास्तरीय नेताको अन्तर्घातका कारण पार्टी पराजित भएको बताउँदै एमालेले आफ्ना नेता–कार्यकतालाई कारबाही गरेको हो ।

उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी मतदातालाई दिग्भ्रमित गर्दै पार्टी निर्णयविपरीत बारबर्दिया र गुलरिया नगरपालिकाका एमाले नेता–कार्यकर्ता कारबाहीमा परेका हुन् । गुलरिया नगरका सह–इन्चार्ज रामबहादुर रावललाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ । उनी ०७४ को स्थानीय निर्वाचनमा गुलरिया–४ बाट वडाध्यक्ष भएका थिए ।

यस्तै, नगर इन्चार्ज धनेशकुमार यादव सचिवालय सदस्य, नगर इन्चार्जबाट मुक्त र जिल्ला कमिटी सदस्यबाट निलम्बन भएका छन् । नगर उपसभापति पुष्पा वली, जिल्ला कमिटी सदस्य हीराबहादुर बीसी, जीवन पन्थी, पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट मुक्त गरिएको सचिव ढकालले बताए । जिल्ला सल्लाहकार शंकर घिमिरेलगायतलाई पदबाट मुक्त गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । निलम्बित नगर इन्चार्ज यादवले झूटो आरोप लगाई कारबाही गरिएको बताए । बिनाप्रमाण र पार्टीको विधानविपरीत कारबाही भएकाले यसको उच्चस्तरीय छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालीले कारबाही प्रक्रिया ठीक भएको बताए । स्थानीय तह निर्वाचनका क्रममा गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा एमाले पराजित भएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?