२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अधुरा योजना पूरा गर्ने महिला अध्यक्ष दर्लामीको प्रतिबद्धता

माधव अर्याल

पाल्पा — प्रमुखमा मात्र होइन‚ उपप्रमुखमा पनि महिलाले अवसर कम पाइरहेका बेला पाल्पाको बगनासकाली गाउँपालिकामा एमाले र गठबन्धन दुवैले महिला उम्मेदवार दिएका थिए । जसले जिते पनि पाल्पामा एक जना महिला अध्यक्ष बन्ने निर्वाचनअघि नै पक्का थियो ।

अधुरा योजना पूरा गर्ने महिला अध्यक्ष दर्लामीको प्रतिबद्धता

एमालेकी सरस्वती दर्लामी र गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवार भएकी सुनीता अधिकारी मुख्य प्रतिस्पर्धामा थिए । तर‚ महिला अध्यक्ष हुने अवसर भने एमालेबाट उम्मेदवारी दिएकी दर्लामीले पाइन् ।

दर्लामीले गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षकी उम्मेदवार बनेकी कांग्रेसकी अधिकारीलाई ८ सय ३३ मतले पछि पार्दै विजयी भइन् । उनले ६ हजार ४ सय ६६ मत ल्याउँदा अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् । साना दलबाट पनि बगनासकाली गाउँपालिकामा दर्लामी, अधिकारीबाहेक जनता समाजवादीकी मिनाकुमारी गाहा र स्वतन्त्र अम्बिका भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेबाट निर्वाचित दर्लामीको शपथ ग्रहण गरेर पद बहालीसमेत भइसकेको छ । दर्लामीले यसअघि गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष स्थानीय तहको अनुभव लिइसकेकी छन् ।

मतदातासमक्ष धन्यवाद दिँदै हिँडेकी उनले उपाध्यक्ष भएका बेला सुरु भएका योजनाहरू नजिकबाट हेरेको र अधुरा योजना पूरा गर्ने लक्ष्य लिएको बताउने गरेकी छन् ।

‘विगतमा सुरु गरेका योजनालाई पूरा गर्नु मेरो कर्तव्य हुनेछ,’ उनले भनिन्, ‘आगामी दिनमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु ।’ उनले आदिवासी जनजाती, दलित, महिलाहरुका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएकी छन् । सुशासन र पारदर्शिताका लागि समेत दर्लामीले योजना बनाएकी छन् ।

आर्थिक अनियमितता हुन नदिने, सुशासनयुक्त गाउँपालिका बनाउने र भ्रष्टाचारमुक्त गाउँपालिका बनाउन पहल गर्ने योजना अघि सारेकी छन् । उनले निर्वाचनअघि नै मतदातासमक्ष बगनासकाली गाउँपालिकामा अघि सारेको आफ्नो प्रतिबद्धताअनुसार नै काम गर्ने बताइन् । ‘भष्टाचारमुक्त र सुशासनयुक्त गाउँपालिका बनाउने, आवधिक योजनाहरू निर्माण गरी कार्यान्वयन गर्ने, योजना तथा कार्यक्रमहरूमा सरोकारवालाहरूको सहभागिता सुनिश्चत गर्ने रहेको छ,’ उनले भनिन् ।

अबको ५ वर्षको अवधिमा कृषि, शिक्षा तथा पर्यटन प्रवर्द्धनमा आफ्नो नेतृत्वले काम गर्ने उनले बताइन् । गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूको स्तोरन्नति, व्यावसायिक कृषि र प्राविधिक शिक्षामा जोड दिने उल्लेख छ । वन्यजन्तुको हैरानी खेपेका जनतालाई बाँदर नियन्त्रणको ठोस योजना ल्याउने उनले बताइन् । गाउँपालिकाभित्रका सडक विस्तार र स्तरोन्नति, विद्युत्, खानेपानी महसुल अनुदानलगायत कार्यक्रममा ध्यान पुग्ने उनले बताइन् । ‘हाम्रो आगामी दिनको योजना भनेको दिगो विकासको योजना नै हो,’ उनले भनिन् ।

पााल्पाको बगनासकाली गाउँपालिकाबाट अध्यक्ष पदमा निर्वाचित सरस्वती दर्लामी चापपानीमा मतदातालाई धन्यवाद दिँदै । तस्बिर : माधव अर्याल/कान्तिपुर

प्रकाशित : जेष्ठ ९, २०७९ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?