२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पाल्पामा जिल्ला समन्वय समिति एमालेकै बन्ने

एमालेबाट गेझाका टंक खनाल समन्वय संयोजक बन्ने पक्का 
माधव अर्याल

पाल्पा — १० स्थानीय तह रहेको पाल्पामा नौ स्थानीय तहको मतगणना हुँदासम्म अध्यक्ष र उपाध्यक्षको संख्या नौ/नौ थियो । रम्भा गाउँपालिकाको मतगणना बाँकी हुँदा एकथरिले रम्भामा एमाले र गठबन्धनको एक/एक आउने आकलन गर्दै थिए । एमालेले भने अध्यक्ष र उपाध्यक्ष नै आफ्नो पोल्टामा पर्ने दाबी गर्दै आएका थिए । 

पाल्पामा जिल्ला समन्वय समिति एमालेकै बन्ने

रम्भाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा अध्यक्ष र उपाध्यक्ष एमालेकैले जित हासिल गरेपछि उनीहरु हौसिएका छन् । ‘अहिलेसम्म जे जस्तो परिणाम आए पनि यो निर्णायक पालिका थियो,’ एमाले सचिव रामजी पोखरेलले भने, ‘रम्भाले जिल्ला समन्वय समिति बनाउन संख्या पुगेकाले ढुक्क भइएको छ ।’ यसअघिको परिणाम भने एमालेको नौ, गठबन्धनकातर्फबाट कांग्रेसको सात र माओवादी केन्द्रको दुई थियो । माओवादी केन्द्रको तीन हुनुपर्नेमा तानसेन नगरपालिकाकी उपप्रमुखमा रुख चिह्नबाट लिएर उठेकी थिइन् ।

एमालेले निस्दी, पूर्वखोला, माथागढी, बगनासकालीमा अध्यक्ष र उपाध्यक्ष दुवै जित हासिल गरेको छ । यसैगरी तिनाउमा अध्यक्ष जितेको छ । कांग्रेसले रामपुर नगपालिका, तानसेन नगरपालिका (उपप्रमुख रुख चिह्न), रैनादेवीमा अध्यक्ष, रिब्दीकोट र तिनाउमा उपाध्यक्ष जितेको छ । पछिल्लो मतपरिणामले भने एमालेको पोल्टामा जिल्ला समन्वय समिति पारेको छ । स्पष्ट ११ मत भएपछि गठबन्धन जिल्ला समन्वय समिति बनाउनबाट चुकेका छन् ।

साविक जिल्ला विकास समितिहरूलाई स्थानीय तहको समन्वय गर्न स्थानीय विकास मन्त्रालयको भूमिकामा जिल्ला समन्वय समिति गठनको व्यवस्था छ । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू अब स्थानीय तहले गर्ने तथा जिल्ला समन्वयन समितिले समन्वय र अनुगमन मात्र गर्ने रहेको छ । यसअघिको समन्वय समितिको भूमिका भने देखिएन । स्थानीय तह निर्वाचन सम्पन्न भएर सबै निर्वाचितहरूले शपथ लिएपछि जिल्ला समन्वय समितिको प्रक्रिया सुरु हुनेछ । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित नौ सदस्य निर्वाचित हुनेछन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने नियममा व्यवस्था छ । आदिवासी, जनजाती, महिला, दलित समुदायको प्रतिनिधित्व अनिवार्य छ ।

पालिकाको मतपरिणाम सार्वजनिक भएसंगै समन्वय प्रमुख को बन्छ भन्ने चर्चासमेत सुरु भएको छ । एमालेले रामपुर नगरपालिका–१०, गेझाका पूराना नेता टंक खनालको नाम अगाडि सारेको छ । उपप्रमुखमा भने तानसेन नगरपालिका–९, की काशिका गैरे र तानसेन नगरपालिका–१४, अर्गलीकी बसन्ता ज्ञवालीको नाम आएको छ । यसअघि २०७४ का समन्वय समिति प्रमुख दयाराज बस्यालको निधनपछि अर्को निर्वाचन भएको थिएन । त्यसपछिको कार्यकाल उपप्रमुख मिरा मरासिनीले चलाएकी थिइन् ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?