बाँकेमा दाजुभाइबीचमै प्रतिस्पर्धा : भाइ जिते, दाजु हारे

रूपा गहतराज

नेपालगन्ज — स्थानीय तह निर्वाचनमा बाँकेका दुई स्थानमा दाजुभाइबीचको प्रतिस्पर्धामा भाइले चुनाव जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा दाइलाई हराउँदै भाइले जित हात पारेका हुन् । नेकपा एमालेबाट उम्मेदवारी दिएका प्रमोद रिजालले ७ सय ८१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए ।

बाँकेमा दाजुभाइबीचमै प्रतिस्पर्धा : भाइ जिते, दाजु हारे

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विनोद रिजालले ५ सय ८१ मत प्राप्त गरे । विनोद प्रमोदका सहोदर दाजु हुन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका थिए । उनी हाल तरुण दल बाँकेको सचिव छन् ।

भाइ प्रमोद निवर्तमान वडाध्यक्ष हुन् । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । ‘वडामा गरेका राम्रा कामहरुको मुल्याकंन गरेर जनताले अनुमोदन गर्नुभयो । थप जिम्मेवारी बोध गरेको छु,’ उनले भने, ‘हामी आ–आफनो पार्टीबाट प्रतिनिधित्व गरेकाले सम्बन्धमा कुनै तिक्तता छैन ।’

त्यस्तै, कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाईबीच प्रतिस्पर्धा थियो । वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीचको प्रतिस्पर्धामा भाइ माधव निर्वाचित भएका छन् ।

कोहलपुर नगरपालिका–३ को वडा अध्यक्षमा नेकपा एमाले उम्मेदवार माधवले माओवादीका उम्मेदवार ताराकेशर रिजाललाई ३ सय मतको अन्तरले पराजित गरेका हुन् । रिजालले कुल १ हजार ३ सय ७ मत प्राप्त गरेका थिए ।

माधवले २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला ६५ मतले पराजित भएका थिए । ‘दुबैले आ–आफनो जितका लागि प्रतिस्पर्धा गरेका हौ,’ भाइ माधवले भने, ‘यो बिल्कुलै राजनीतिक प्रतिस्पर्धा मात्र हो ।’


प्रकाशित : जेष्ठ ४, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?