नेपालगञ्ज–२० को वडाध्यक्षमा कौशलकुमार धोबी निर्वाचित 

रुपा गहतराज

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका –२० को वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) कौशल कुमार धोबी निर्वाचित भएका छन्  । उनले १ हजार ५ सय ३५ मत पाएका छन् । यहाँ जसपाको प्यानल नै विजयी भएको छ ।

नेपालगञ्ज–२० को वडाध्यक्षमा कौशलकुमार धोबी निर्वाचित 

यसअघि यहाँ नेकपा एमाले निर्वाचित भएको थियो । यसपटक भने अल्पसंख्यक समुदायबाट उम्मेदवार बनेका धोबीले जितेका हुन् । उनीसँग नेकपा एमालेका कृष्ण कार्की पराजित भएका छन् ।

शिक्षण पेशाबाट बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष हुँदै आएका धोबी २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष पदको उम्मेदवार थिए । २०६३ देखि राजनितिमा लागेका धोबीले वडाध्यक्ष भएपछि आफ्नो समुदायका सवाललाई जोड दिएर उठाउने बताए ।

‘अझै पनि उच्च बर्गहरुलाई एउटा धोबीलाई वडाअध्यक्ष बनाएपछि नमस्कार गर्नुपर्छ भन्ने डर छ,’ उनले भने, ‘यो भ्रम चिर्न पनि मैले यो आँट गरेको हुँ । मध्यम वर्गीय समुदायमा समस्या छैन । तर उच्च बर्गमा अझै यो अवस्था कायमै छ ।’

उनले आफुले भेदभाव रहित समाज निर्माणमा लाग्न चाहेको बताए ।

‘भाोट दिनेलाइ मात्र सेवा दिने परिपाटीको अन्त्य गर्न चाहान्छु,’ उनले भने । यो वडामा मात्र २५० परिवार धोबीको बसोबास छ । उपमहानगरभित्र मात्र २ हजार भन्दा बढी धोबी बसोबास गर्छन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?