पाल्पामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई घाइते - लुम्बिनी - कान्तिपुर समाचार

पाल्पामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई घाइते 

माधव अर्याल

पाल्पा — मौन अवधिमा मतदाता प्रभावित पार्न खोजेको आरोपमा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच बुधबार राति झपड हुँदा पाल्पाको रैनादेवी छहरामा दुई कार्यकर्ता घाइते भएका छन् । रैनादेवी छहरा–४, छहरा मगालमा दामोदर पौडेल र तल्लो छहराका रिखीबहादुर थामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । पौडेल कांग्रेस र थामी एमाले निकट कार्यकर्ता हुन् । दुवैलाई दुवै पक्षले मतदाता प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । सामान्य विषयमा विवाद हुँदा उनीहरुबीच झडपको स्थिति सिर्जना भएको स्थानीयले बताए । एमाले कार्यकर्ताले पौडेललाई रातिको समयमा गाउँ पसेको आरोपमा कुटपिट गरेको कांग्रेसले आरोप लगाएको छ । पौडेलको दाहिने हात फुस्किएको छ ।

एमालेलाई गाउँमै बसेका बेला गठबन्धनका कार्यकर्ताले गाउँमै विवाद गर्दा थामी घाइते भएका हुन । स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अगुवाले भीड नियन्त्रणमा लिएका थिए । दुवै पक्षबाट भएका गल्ती कमजोरी आगामी दिनमा नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द रायमाझी र गठबन्धनका उम्मेदवार लक्ष्मण रायमाझीले कार्यकर्ताबाट भएको गल्तीलाई जिम्मेवारी लिएर माफी मागेका छन् ।

मंगलबार रातिदेखि मौन अवधि सुरु भएपनि एमाले र गठबन्धनका नेता, कार्यकर्ता भने रातीको समयमा भेला हुने, हो हल्ला गर्ने, दुवै पक्षबीच एक अर्कालाई आरोप लगाउने गर्दै आएका छन् । मौन अवधिमा आचारसंहिता विपरीत कार्य भइरहेपनि निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मीले कडाई नगरेको स्थानीयको आरोप छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले दुबै पक्षबीच मेलमिलाप भइसकेकाले कुनै पनि उजुरी नपरेको बताए ।

उता, रिब्दीकोट गाउँपालिका–८, फेकमा रातिको समयमा मतदाता प्रभावित पार्न गाउँ डुलेको लु १ च २१९५ नम्बरको योद्धा पिकअप जिप मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको छ । एमाले निकट कार्यकर्ताले रातीमा सवारी साधन गाउँमा डुलाएको गठबन्धनबाट प्रहरीलाई खबर आएपछि गस्ती टोलीले सवारी साधन नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

प्रकाशित : वैशाख २९, २०७९ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्

उम्मेदवारको मृत्युपछि यी स्थानीय तहको निर्वाचन सर्‍यो [सूची]

कान्तिपुर संवाददाता

काठमाडौँ — विभिन्न स्थानीय तहमा उम्मेदवारहरुको मृत्यु भएपछि निर्वाचन आयोगले ती ठाउँको निर्वाचन कार्यक्रममा संशोधन गरेको छ । केहीमा भने नयाँ निर्वाचन कार्यक्रम नै तय गरिएको छ ।

कपिलवस्तुको महाराजगंग नगरपालिकाको निर्वाचन जेठ ३ मा गर्ने भएको छ । नगरपालिकाको कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार शुभावती कर्मीको मंगलबार मृत्यु भएपछि नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

त्यस्तै दाङको तुलसीपुर नगरपालिकाको वडा नम्बर १७ को निर्वाचन पन जेठ ३ लाई तय गरिएको छ । एमालेकोतर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका लभरु चौधरीको मंगलबार मृत्यु भएपछि आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । वैशाख २७ अघि मृत्यु भएको पालिकाको निर्वाचन भने शुक्रबार नै हुने गरी निर्वाचन कार्यक्रम संशोधन गरिसकेको छ ।

कपिलवस्तुकै कपिलवस्तु नगरपालिका वडा नम्बर १० मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका वडा सदस्य राजेन्द्र चौधरी थारु वैशाख २३ मृत्यु भएको थियो । आयोगका अनुसार सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ को कांग्रेसको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी मडुवादेवी चमारको वैशाख १४ मा मृत्यु भएको थियो ।

त्यस्तै रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीबाट महिला सदस्यमा उम्मेदवारी दिएकी मिना देवीको पनि वैशाख १६ मा मृत्यु भएकी थिइन । आयोगले संशोधिन निर्वाचन कार्यक्रम अनुसार शुक्रबार निर्वाचन गराउन लागेको हो ।

यस्तै मोरङको केरावारी गाउपालिका २ मा कांग्रेसका वडा सदस्य उम्मेदवार नवीन लिम्बूको वैशाख १६ मा मृत्यु भएको थियो । यहाँ पनि निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । कपिलवस्तुकोबुद्धभूमि नगरपालिका नम्बर ८ मा एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार ओमप्रकाश तिवारीको पनि वैशाख १६ मृत्यु भएको थियो ।

रुपन्देहीको मर्चवारी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवारी दिएका वडा नम्बर ३ की दलित महिला सदस्य कसुमी पासिनको मृत्यु भएको थियो । सिराहा नगरपलिकामा एमालेको तर्फबाट वडा नम्बर ५ मा वडा सदस्य दिएकी मुना सेखको पनि वैशाख २३ मा मृत्यु भएपछि निर्वाचन कार्यक्रम संशोधन गरेर मतदान शुक्रबार हुने भएको हो ।

प्रकाशित : वैशाख २९, २०७९ ०९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×