मत खेर जाने चिन्ता

हरि गौतम

रुकुम पूर्व — मतदानको दिन नजिकिएसँगै पुथाउत्तरगंगा गाउँपालिका–४ की बलकुमारी रोका मगरको अन्योल बढ्दै छ । उम्मेदवार र कार्यकर्ता प्रचारमा आइरहेका छन् । आफ्नो दलको चिह्नमा मतदान गर्नुहोला भनेर जान्छन् ।

मत खेर जाने चिन्ता

मतदान गर्ने तरिका सिकाउँदैनन् । त्यसैले मत खेर जाने चिन्ताले उनलाई सताएको हो । सिस्ने गाउँपालिका–१ लाम्पाखाका सइबहादुर बुढा पनि यस्तै द्विविधामा छन् । मत बदर हुने चिन्ताले उनलाई पनि सताइरहेको छ ।

रुकुम पूर्वमा तीन स्थानीय तह छन् । सबैतिरका मतदाताको मुख्य समस्या मतदाता शिक्षा बनेको छ । ‘दलका नेता र उम्मेदवारले आफ्नै चिह्न भनेर जान्छन् । गहिरो गरी मतदानको प्रक्रियाबारे कसैले सिकाएको छैन,’ सिस्ने–१ पाखापानीकी कमला बुढाले भनिन्, ‘यो चुनावमा धेरै मत बदर हुने देखिन्छ ।’ ज्येष्ठ नागरिक र लेखपढ नभएकालाई झनै समस्या छ । ‘मतपत्रको आकार, त्यसभित्र रहेको चिह्न साना हुने हुनाले पनि ज्येष्ठ नागरिकलाई समस्या हुने देखिन्छ । त्यसमाथि मतदाता शिक्षा दिइएकै छैन,’ बुढाले भनिन् ।

जिल्ला निर्वाचन कार्यालयले केही दिनअघि नमुना मतदान गराएको थियो । ४० मतदाता सहभागी भएको नमुना मतदानमा २.४ प्रतिशत मत बदर भएको थियो । मत संकेत गर्ने तरिका नजानेर, मतपत्र पट्याउन नजानेर मत बदर भएको थियो । जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले यो निर्वाचनमा पहिलाको जस्तो मतदाता शिक्षा सञ्चालन नभएको बताए । विभिन्न रेडियो, पत्रपत्रिका, अनलाइन तथा सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम चलाइए पनि गाउँगाउँमा पुगेर मतदाता शिक्षा नपुगेको बताए । निर्वाचनमा खटिएका कर्मचारी, स्वयंसेवकले दुई दिन मत संकेतको तयारीबारे सिकाउने ओलीले बताए । यो निर्वाचनमा मतदाता शिक्षाका लागि भनेर बजेट नै घटेर आएपछि पहिलाको जस्तो मतदाता शिक्षा कार्यक्रम पुग्न नसकेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २८, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?