कार चालक थापा कारागार चलान - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार चालक थापा कारागार चलान 

रूपा गहतराज

नेपालगन्ज — चैतको अन्तिम साता कारले ठक्कर दिँदा नेपालगन्जमा एकैघरमा बस्ने तीन जनाको मृत्यु घटनाका आरोपीलाई बाँके जिल्ला अदालतले बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

कार चालक नेपालगन्ज–१० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो । बाँके जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसमा जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले थापालाई थुनामा पठाएको हो । तीव्र गतिमा गाडी चलाएर किचेर मारेको, सीसीटीभी फुटेज र प्रमाणसमेतको आधारमा अदालतले कार चालक थापालाई थुनामा पठाएको हो ।

मुद्दाको सुनुवाइमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मा, सहन्यायाधिवक्ता दामोदर गौतम, अधिवक्ताद्वय विश्वजीत तिवारी र पुनम श्रेष्ठ प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ताहरु सुनिल श्रेष्ठ, लोकबहादुर शाह र गणेश थारुले बहस गरेका थिए ।

गत चैत २७ गते बीपी चोक नजिकै थापाले चलाएको कारको ठक्करले सडकका पैदलयात्री नेपालगन्जका ६५ वर्षीय समिमा इद्रिसी, ५ वर्षीय बालक मो कासिम इद्रिसी र ५ वर्षीय मोहम्द अली हलवाईको मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख २२, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंको चुनावमा 'गुठी' निर्णायक

भित्री सहरमा जातीगत, कामअनुसारका गुठीहरु हुने गरेका छन् । मलामी जानेदेखि जात्राहरुमा पानी खुवाउनेसम्म, पशुपतिमा बाँदरलाई मकै खुवाउनेदेखि स्वयम्भू मन्दिरमा उम्रिएको घाँस उखेल्नेसम्मका गुठी छन् ।
मणि दाहाल

काठमाडौँ — काठमाडौंमा चुनावी चर्चामा सँधै जोडिने विषय हो- भित्री सहरमा सक्रिय रहेका गुठीहरु। शताब्दीऔंदेखि पुरानो सहरमा सक्रिय यस्ता गुठीले सम्पदा र संस्कृति जोगाउने, सामाजिक काममा सक्रिय हुन्छन् नै महानगरको चुनावी परिणामलाई समेत प्रभावित पार्ने गरेका छन् ।

बसाईं सराईसहितको विषयले काठमाडौंको जनसंख्या र मतदाता दुवैको आकार बढेपनि अझै राजनीतिक दलहरुले महानगरभित्रको चुनावी परिणामको हिसाब किताब गर्दा गुठीलाई निर्णायक शक्तिको रुपमा लिने गरेका छन् ।

‘काठमाडौं जिल्लाको होइन तर महानगरमा भित्री सहरमा अहिले निर्णायक रुपमा रहेको छ रैथाने नेवारको घनाबस्ती छ । त्यसमा गुठीले भूमिका खेल्छ’ अध्येता एवं विश्लेषक मल्ल के सुन्दरले भने, ‘पहिले अलि बढी थियो । बसाईंसराईको विषय अहिले केही कम भएका छन् । तर पनि उम्मेदवारले यसलाई वेवास्ता गरेर जानसक्ने अवस्था भने छैन ।’

विष्णुमतिदेखि बाग्मती नदीबीचको भूभाग भित्री सहरको रुपमा छ । क्षेत्रपाटीबाट टेकु दोभानसम्मको १२ टोल भित्र रैथाने नेवारका गुजमुज्ज परेका घनाबस्तीहरु छन् । जसमा कुमारी मूर्तिको परिक्रमा गराउने गरिन्छ । जसमा सयौं प्रकृतिको गुठीहरु सक्रिय रहने गरेका छन् ।

‘जन्मदेखि मृत्युसम्मका संस्कार गुठीबाट चल्छन् ’ काठमाडौं महानगरपालिकाका पूर्व वडाध्यक्ष पवित्रमान बज्राचार्यले भने, ‘सामान्य मानिसको छलफलमा बौद्धिक मानिसले बोलिदिँदा त्यसको प्रभाव पर्छ भने दिनानुदिन गतिविधिहरुमा संलग्न रहनेहरुले भनेको प्रभाव नपर्ने कुरै हुँदैन । गुठीका प्रमुखहरुले यसपटक यस्तो देखिन्छ यसरी जाऔं भन्ने हुन्छ । त्यसैअनुसार हुने पनि गरेको छ ।’ २०६५ सालमा सरकारले गुठीको बारेमा अध्ययन गर्न गठन गरेको समितिको प्रमुख बज्राचार्य थिए ।

काठमाडौं महानगरपालिकाका ३२ मध्ये १२ वडा भित्री सहरमा पर्छन्। जसमा १० वटा वडा पुरै र २ वटाको आधा भाग भित्री सहर पर्छ । काठमाडौं महानगरपालिकाको १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ वडा भित्री शहरका हुन् । जसमा यी १० वडामा ५३ हजार ९ सय ६२ मतदाता छन् । जसका अधिकांश रैथाने नेवारहरु मतदाता छन् ।

त्यसैगरी १३ र १७ नम्बर वडाको आधा भाग भित्री सहरमा पर्छन् । १३ नम्बर वडामा १२ हजार १ सय ५९ मत र १७ नम्बर वडामा ८ हजार १ सय ९९ मत रहेको छ ।

आधा मतदाता भित्री सहरमा मान्दा त्यो संख्यामा थप १० हजार मतदाता थपिन्छन् । कोर सिटीभित्र करिब ६६ हजार हाराहारीमा मतदाता रहेको देखिन्छ ।

यो काठमाडौं महानगरपालिकामा कुल मतदाताको करिब २१ प्रतिशत हो । अहिले काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता छन् । अघिल्लो चुनाव भन्दा करिब यो संख्या २१ हजार बढी हो ।

‘कसै कसैले १५ वडालाई पनि यसमा राख्ने गरेका छन्’ अध्येता पत्रकार सुरेश किरणले भने, ‘तर त्यो वडा नेवार बाहुल्य हो तर भित्री सहरभित्र भने पर्दैन ।’ वडा १५ मा १३ हजार ७१ मतदाता रहेका छन् ।

‘पछिल्लो समयमा भित्री सहर छाडेर खुला ठाँउतर्फ बसाईं सर्नेहरु पनि छन् । तर अधिकांशले आफ्नो मतदाता सूचीमा नाम भने पुरानै ठाउँमा राखिनै रहेका छन्’ सुरेश किरणले भने, ‘नजिकै नगरपालिकामा बस्नेहरु भोट दिने आफ्नो पुरानो ठाउँमै आउने गरेका छन् ।’

भित्री सहरमा जातीगत, कामअनुसारका गुठीहरु हुने गरेका छन् । मलामी जानेदेखि जात्राहरुमा पानी खुवाउनेसम्म, पशुपतिमा बाँदरलाई मकै खुवाउनेदेखि स्वयम्भू मन्दिरमा उम्रिएको घाँस उखेल्नेसम्म हुन्छन् ।

‘गुठीहरु एउटै प्रकृतिको भएपनि टोलअनुसार फरक फरक समूह हुन्छन्’ सुरेशले भने, ‘आफ्नो जातबाट उठेको उम्मेदवार छ भने सघाउने हुन्छ ।’

किसान, ज्यापु, मानन्धर गुठी अन्य जातिगत समूह गुठीभन्दा शक्तिशाली मानिन्छन् । ज्यापुहरुको संलग्नता बिना कति जात्रा समेत नचल्ने समेत हुन्छ । तुलाधर, शाक्य, बज्राचार्यसहित वौद्ध धर्माबलम्बीहरु बिहार सञ्चालनको गुठीमा संगठित हुने गरेका छन् ।

‘टोल टोलमा किसान, ज्यापुहरुका जातीय गुठीहरु छन् । त्यसले केही प्रभाव पार्छ,’ विश्लेषक मल्लले भने, ‘पञ्चायतकालमा दरबारका मानिस दरबारको चाहाना यस्तो छ त्यो सघाइदिनु पर्‍यो भन्दै गुठीका प्रमुखहरुलाई भेट्न आउँथे ।’ ज्यापु गुठीका गुठियारहरु नआउँदा काठमाडौमा कतिपय जात्रा सञ्चालन हुनै नसक्ने अवस्था हुन्छ ।

मल्ल आँफै पनि दुई पटक काठमाडौबाट संसदीय चुनावमा प्रतिस्पर्धा गरेका थिए । तर उनले आफूले जातीगत भोट नमागेको बताए ।

‘मैले आस्थाकै आधारमा भोट मागेको थिए । मेरो भोट पनि त्यसैगरी आएको हो’ मल्लले भने ।

तर एमालेका केन्द्रीय सदस्य तथा काठमाडौं ७ का सांसद रामवीर मानन्धर गुठीले आफूलाई सघाएको बताउँछन् । ‘औपचारिक नै निर्णय नै गरेर मतदान गर्ने भनेको थियो’ मानन्धरले भने । मानन्धरले उम्मेदवारहरु जिताउन वा हराउन गुठीले सक्ने बताउँछन् ।

‘अक्षय तीतृयादेखि मानन्धरहरु १३ दिने दाजुभाइहरुको गुठी अहिले चलिरहेको छ । त्यस्तामा कसलाई हराउने वा जिताउने भन्ने विषयमा छलफल हुन्छ’ मानन्धरले भने,‘अन्य राजनीतिक दलमा लागेको छ भने पनि मानन्धर उम्मेदवार छ भने एउटा भोट दिन्छन् ।’

मानन्धरका अनुसार भित्री सहरसँग जोडिएको अन्य वडामा पनि गुठीको प्रभाव हुने गरेको छ । मानन्धरले सबैभन्दा शक्तिशाली ज्यापु समाज भएको बताए ।

राजनीतिक दलभित्र गुठीमा आफ्नो प्रभाव छ भन्ने विषयलाई देखाएर पनि टिकट माग्ने गरिन्छ । प्रतिबद्धताअनुसार काम गर्न नसकेको आलोचना भएका मेयर विद्यासुन्दर शाक्य पनि टिकटको प्रतिस्पर्धामा रहेका थिए । नेताहरुसँग आफ्नो पक्ष राख्दा उनले गुठीको समर्थन रहेको बताउने गरेका थिए ।

सुरेशकाअनुसार अघिल्लो पटक विद्यासुन्दर शाक्यले मेयरमा ठूलो अन्तरले जीत्नुमा गुठीहरुको भूमिका प्रमुख रहेको थियो । ‘शाक्यले जुन अन्तरले चुनाव जित्नु भयो त्यसमा गुठीहरुको भूमिका रहेको छ’ सुरेशले भने ।

प्रभावकारी काम नगरेको आरोप लागेका मेयर शाक्यले कार्यकाल दोहोर्‍याउनका लागि पार्टीभित्र चर्को लबिङ गरेका थिए । त्यसका लागि शाक्यले पुन जित्ने आधारमा गुठीहरुभित्र आफ्नो पकडलाई प्रस्तुत गरेका थिए । ‘शाक्यले भित्र सहरमा जे काम गर्नु भएको थियो उहाँप्रति गुठी खुशी नै थियो । उठ्नु भएको भए सकारात्मक हुन्थ्यो’ सुरेशले भने । मेयर शाक्य गुठीको कार्यक्रममा निकै सहभागी हुने गरेका थिए । शाक्य एकैदिन २२ वटा कार्यक्रममा समेत संलग्न रहेको उदाहरण भेटिन्छ ।

उपत्यकाभित्र गुठी कति शक्तिशाली छ भन्ने विषय समय समयमा स्पष्ट देखिन्छ । सरकारविरुद्ध गुठी लाग्यो भने त्यो निर्णय परिवर्तन गर्न शक्तिशाली सरकारहरु पनि बाध्य हुने गरेको उदाहरणहरु छन् ।

पहिलो संविधानसभा चुनावपछि बनेको पुष्पकमल दाहालको नेतृत्वको सरकारले इन्द्र जात्रा पुजाका लागि दिने रकम कटौति गरेपछि त्यसको चर्को विरोध भएको थियो ।

गुठियारहरु आन्दोलनमा उत्रिएपछि २०६५ सालमा सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका थियो ।

त्यसको दस वर्षपछि फेरि त्यस्तै अवस्था देखिएको छ । २०७६ सालको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक २०७५’ संसदमा प्रस्तुत गरेको थियो । गुठी विधेयक संसदमा दर्ता भएपछि उपत्यकामा विरोध सुरु भयो । जसले ओली नेतृत्वको करिब दुई तिहाइ बहुमत रहेको सरकार निर्णयबाट पछि हट्न बाध्य भयो । सडक विरोधको कारण कुनै पनि ठूलो निर्णयबाट ओली नेतृत्वका शक्तिशाली सरकार पछि हट्न बाध्य भएको थियो ।

‘आन्दोलन नेवारको संस्कृतिमाथि आक्रमण भयो भनेर भएको थियो । राजनीतिक विषयमा सबै त्यस्तै हुन्छ भनेर भन्न नसकिँदैन’ मल्लले भने ।

प्रकाशित : वैशाख २२, २०७९ २१:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×