कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पाल्पाका संचारकर्मीलाई तटस्थ हुन आग्रह

माधव अर्याल

पाल्पा — ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउन सञ्चारकर्मी तटस्थ हुनुपर्नेमा एक कार्यक्रमका सहभागीले बताएका छन् ।

पाल्पाका संचारकर्मीलाई तटस्थ हुन आग्रह

कार्यक्रममा सहभागीले निर्वाचनमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भएकाले प्रचारप्रसारका क्रममा पत्रकारबाटै आचारसंहिता उलङ्घन भएको देखिएकाले त्यसलाई नियमन गर्नुपर्ने सुझाव दिएका हुन् ।

पत्रकार महासंघ जिल्ला शाखा र पाल्पा विकास केन्द्रले आयोजना गरेको स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन मर्यादित र निष्पक्ष रिपोर्टिङ विषयक छलफल कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले स्वच्छ निष्पक्ष निर्वाचनको लागि पत्रकारहरूको भूमिका सञ्चारमाध्यम, सामाजिक सञ्जाल र समाजमा तटस्थ हुनुपर्नेमा जोड दिए ।

समग्र सुरक्षा अवस्था, सुरक्षाकर्मी, कर्मचारीहरूको खटनको अवस्थाबारे उनले जानकारी दिए । हरेक मतदान केन्द्रलाई सुरक्षित बनाउन तीन सुरक्षा घेराबाट निगरानी गर्दै निर्वाचनका बेला भरपर्दो सुरक्षा व्यवस्था मिलाएको उनले बताए । पाल्पामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र छन् । त्यसका लागि १ हजार ९ सय ७१ जना कर्मचारी, ४ सयभन्दा बढी नेपाली सेना, २ सय ७० भन्दा बढी सशत्र प्रहरी, ७ सयभन्दा बढी जनपद प्रहरी र १ हजार ८० जना म्यादी प्रहरी परिचालन भएको प्रजिअ पन्तले बताए । स्वतन्त्र निष्पक्ष मतगणनाका लागि गणनास्थलमा स्थलमा सीसी क्यामेरा जडान गर्ने उनले बताए ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखीराम रानाले पत्रकारहरू जिम्मेवार भई, कहिँकतैबाट उजुरबाजुर नआउने गरी पत्रकारिता गर्न आग्रह गरे । उनले स्वतन्त्र, निष्पक्ष, सन्तुलित हुन आग्रह गरे । स्थानीय तहको निर्वाचनमा भाग लिएका पत्रकाहरू राजीनामा नगरे पनि केन्द्रको निर्देशनअनुसार स्वतः सदस्यता खारेज हुने बताए ।

प्रकाशित : वैशाख २२, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?