केन्द्रको निर्देशनपछि बागी फिर्ता
भैरहवा — बुटवल उपमहानगरपालिकामा गठबन्धनका ठूला दलका विरुद्धमा ‘बागी’ उम्मेदवारी दिएका साना दलले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने गठबन्धनमा केन्द्रबाटै सहमति भएको थियो । त्यसको विरोध गर्दै गठबन्धनका साना दल जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि प्रमुख/उपप्रमुख दुवै पदमा उम्मेदवारी दिएका थिए । तर, केन्द्रको निर्देशनअनुसार उनीहरूले उम्मेवारी फिर्ता लिएका हुन् ।
निर्वाचन अधिकृत लेखनाथ पौडेलका अनुसार उपमहानगर प्रमुखमा जसपाबाट सुरज हितान र राजमोबाट कृष्णप्रसाद पोखरेलले उम्मेदवारी दिएका थिए । बुटवल प्रमुखमा चार र उपप्रमुखमा चार जनाले उम्मेदवारी फिर्ता लिएको पौडेलले बताए । उपमहानगर प्रमुखमा १७ र उपप्रमुखमा १६ जनाको उम्मेदवारी परेको थियो । तिलोत्तमा नगरपालिकामा भने केन्द्रको निर्देशन कार्यान्वयन हुन सकेन । तिलोत्तमामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख लिने गरी सहमति भएको थियो । त्यसमा जसपा र नेकपा एसले असहमति जनाएका थिए । तिलोत्तमा प्रमुखमा नेकपा एसबाट आशाकुमारी चौधरी, जसपाबाट गुरुदेव गौंड कोहार र जनमोर्चाबाट रुकबहादुर पराजुलीले उम्मेदवारी दिएका थिए । उपप्रमुखमा जसपाकी सीता सुनार, जनमोर्चाकी शान्ताकुमारी घर्ती क्षेत्री र नेकपा एसबाट सञ्जीव भण्डारीले उम्मेदवारी दिएका थिए । उनीहरू सबैको उम्मेदवारी फिर्ता नभएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए । तिलोत्तमाको प्रमुखमा २० र उपप्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ ।
पाल्पामा गठबन्धन र एमालेका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका विष्णुप्रसाद पोखरेल र उपाध्यक्षमा कांग्रेसकै चेतकुमारी थापाले उम्मेदवारी फिर्ता लिएका हुन् । एमालेका जिल्ला सचिवालय सदस्य दमनसिं पाटाले निस्दी गाउँपालिका अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । तानसेन–५ मा एमालेबाट रुष्ट भएका बुद्धबहादुर रावलले पनि उम्मेदवारी फिर्ता लिएका छन् । तानसेनमा नेकपा एकीकृत समाजवादीका ६ र दुई जनाको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता भएको छ । रिब्दीकोट गाउँपालिकामा गठबन्धनका विरोधमा उपाध्यक्षमा उम्मेदवारी दिएका कांग्रेसका गोविन्द आचार्यले पनि मनोनयन फिर्ता लिएका छन् । त्यस्तै रिब्दीकोट, माथागढी, रम्भा गाउँपालिकामा पनि नेकपा एस र माओवादी केन्द्रका उम्मेदवारले मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
अर्घाखाँचीमा एमालेबाट मालारानी गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका बालकृष्ण शर्मा आचार्यले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनले एमालेकै उम्मेदवार विरुद्ध मनोनयन दर्ता गरेका थिए । त्यस्तै मालारानीमै अध्यक्षमा उम्मेदवारी दिएका गठबन्धन दल नेकपा एकीकृत समाजवादीका पीताम्बर भुसालले पनि उम्मेदवारी फिर्ता लिएका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा निवर्तमान पालिका अध्यक्ष राधेश्याम चौधरीले कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए । दोस्रो कार्यकालका लागि पनि अध्यक्ष पदमा उम्मेदवारी दाबी गरेका चौधरीलाई कांग्रेसले टिकट नदिएपछि उनी बागी बनेका हुन् । कांग्रेसले अध्यक्षमा अनिलकुमार गौंडलाई आधिकारिक उम्मेदवार बनाएको छ । उनले उम्मेदवारी फिर्ता लिएनन् । सरावल गाउँपालिकामा एमालेका पञ्चराम चौधरीले दिएको बागी उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताए । जिल्लामा तीन जनाले बागी उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
पूर्वी रुकुममा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका तीन र उपाध्यक्षमा उम्मेदवारी दिएका एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पुथाउत्तरगंगा गाउँपालिकामा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका नेताहरू जिताराम कामी र महेन्द्र बुढा मगरले उम्मेदवारी फिर्ता लिएका हुन् । भूमे गाउँपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसको आधिकारिक उम्मेदवार भए पनि उनले शुक्रबार दिउँसो उम्मेदवारी फिर्ता लिएपछि भूमे गाउँपालिकामा माओवादीका होमप्रकाश श्रेष्ठ, राजमोका कमान पुन र मंगोल नेसनल अर्गनाइजेसनका रतनबहादुर पुनबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा एमालेका कमानसिंह डाँगी र माओवादीकी सविना बुढाबीच प्रतिस्पर्धा हुनेछ । माओवादीबाट बागी उम्मेदवारी दिएकी नमिता पुनले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । सिस्ने गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका जनता समाजवादीका उपेन्द्रलाल कामीको बन्द सूचीबाट नाम नहटेका कारण उम्मेदवारी रद्द भएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा १४ जनाको उम्मेदवारी फिर्ता भएको छ । प्रमुख, उपप्रमुख र वडाध्यक्षमा एक/एक र वडा सदस्यका ११ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उपमहानगर प्रमुखमा १८ जनाको उम्मेदवारी परेको थियो । राप्तीसोनारी गाउँपालिकामा १२ र कोहलपुर नगरपालिकामा १६ जनाको उम्मेदवारी फिर्ता भएको छ । कपिलवस्तुमा बागी उम्मेदवारी दिएका दुई जनाले फिर्ता लिएका छन् । कांग्रेसबाट यशोधरा गाउँपालिका उपाध्यक्षमा बागी उम्मेदवारी दिएका प्रेमलता भट्ट र वाणगंगा नगरपालिका प्रमुखमा एमालेबाट उम्मेदवारी दिएका जंजिरप्रसाद थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
दाङमा १ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । घोराही उपमहानगरपालिकामा १८, तुलसीपुर उपमहानगरपालिकामा ९६, लमही नगरपालिकामा ७, गढवा गाउँपालिकामा ८, दंगीशरणमा १३, बंगलाचुलीमा १, बबईमा १४, राजपुरमा ५, राप्तीमा ९ र शान्तिनगर गाउँपालिकामा ५ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । फिर्ता लिनेमा केही पालिका प्रमुख र उपप्रमुख छन् भने अधिकांश वडाका उम्मेदवार रहेका छन् । तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा उम्मेदवारी दिएका कांग्रेस निकट धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी नेकपा एसबाट राप्ती गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएकी सीता नेपालीले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । राप्तीमा जसपाबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी दीपशिखा न्यौपानेले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । कांग्रेसका बुद्धिप्रकाश चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।
बर्दियामा पनि कांग्रेसका दुई जना बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राजापुर नगरपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसबाट बागी उम्मेदवार बनेका टंकप्रसाद जैसी र नीता जैसी अधिकारीले उम्मेदवारी फिर्ता लिएका हुन् । मधुवन नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एसबाट उम्मेदवारी दिएका दुर्गाबहादुर रिमाल र पुष्पादेवी शाहीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
(घनश्याम गौतम (रूपन्देही), मनोज पौडेल (कपिलवस्तु), माधव अर्याल (पाल्पा), वीरेन्द्र केसी (अर्घाखाँची), नवीन पौडेल (पश्चिम नवलपरासी), हरि गौतम (रुकुम पूर्व), रूपा गहतराज (बाँके), कमल पन्थी (बर्दिया) र दुर्गालाल केसी (दाङ)
प्रकाशित : वैशाख १८, २०७९ ०९:०५