मालिकाका ३७ सय घरमा खानेपानी

गुल्मी — गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेकी गोमा गिरी बिहानै ४ बजे खानेपानी लिन पँधेरोमा पालो कुर्थिन् । करिब दुई घण्टापछि मात्रै पालो आउने गर्थ्यो । पानी भरेर गाग्री डोकोमा बोक्दा उस्तै सास्ती । तर, अहिले घरको आँगनमा नै स्थानीय सरकारले बनाइदिएको धारोमा चौबीसै घण्टा पानी खस्छ । ‘पहिला म बिहानै ४ बजे उठेर पानी लिन पँधेरामा जानुपर्थ्यो,’ उनले भनिन्, ‘एक गार्गी पानी डोकोमा बोकेर घर आउँदा आङ खस्लाझैं हुन्थ्यो । अहिले त्यो समस्या हटेको छ ।’

मालिका–५ जमलपोखराकी बालकुमारी अर्याल बिहान जुरुक्क उठेर पानी लिन घरबाट निस्कनुपर्ने त्यतिबेलाको बाध्यता बिर्सन खोजे पनि सक्दिनन् । ४३ वर्षीया अर्यालले घरमा आवश्यक पर्ने सबै पानी बोकेरै पुर्‍याउनु पर्थ्यो । तर, अहिले पिँढीअगाडि बनेको धारामा छङछङ पानी खसिरहेको देख्दा सपनाजस्तै लागिरहेको उनी बताउँछिन् । एक घण्टाको बाटोमा पैदल पानी बोकेर पिउनुपर्ने बाध्यता हटेकामा उनले स्थानीय सरकारलाई धन्यवादसमेत दिइन् ।

‘पहिला–पहिला त साबुनपानी समेत खायौं, राती पनि उठेर पानी बोक्न जान्थें, डिंगाबाच्छा धेरै हुन्थे, खाना पकाउने, नुहाउने, कपडा धुने सबै पानी बोकेरै ल्याउँथें,’ उनले भनिन्, ‘मलाई त अहिले धेरै आराम भएको छ । पटक–पटक हिंड्न धौ भएर डोकोमा गार्गीमाथि गार्गी खप्टेर पानी बोक्थें ।’ अर्याललाई पानी बोकेरै जिन्दगी बित्ने पिरले सताउँथ्यो । अझ उनलाई आफ्ना दुई छोरीको झन् धेरै चिन्ता लाग्थ्यो । उनीहरूको जिन्दगी पनि यसैगरी बित्ने भो भनेर । तर, आफ्नै हातले घरअगाडिको धारो खोलेर पानी थाप्न पाउँदा उनी अहिले दंग छिन् ।

खानेपानी लिनका लागि बिहानै झिसमिसे अँध्यारोमा खोलामा पानी लिन पुगेको मालिका–२ दर्लिङ चिलमिलकी गोमा पौडेलले बताइन् । ३९ वर्षीया पौडलले पहिले पटुका फाट्ने गरी पानी बोक्ने गरेको बताइन् । ‘पहिलाका दुःख बयान गरिसाध्य छैनन् । खोलाबाट पानी बोकेर ल्याउँदा पटुका त कति फाटे फाटे ।’ पौडेलले विगतमा खोलाको दूषित पानी खान बाध्य भएको बताइन् । अहिले घरमा धारा बनेपछि शुद्ध पिउने पानी आइरहेको उनले बताइन् । ‘धमिलो र फोहर पानी खान बाध्य थियौं,’ उनले भनिन्, ‘अहिले त धारामा सफा पानी आउँछ । क्या आनन्द छ ।’

‘गुल्मीको मालिका गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानअन्तर्गत प्रत्येक व्यक्तिको घरमा धारासहित खानेपानी पुर्‍याएपछि पालिकाबासीलाई खानेपानी लिन घण्टौं हिंड्नुपर्ने बाध्यता हटेको छ । मालिका गाउँपालिकाले ८ करोड ११ लाख ७३ हजार रुपैयाँको लागतमा गाउँपालिकाभित्रका ३७ सय ८१ घरमा खानेपानी पुर्‍याएको प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न सफल भएको पालिकाका अध्यक्ष रितबहादुर थापाले बताए । ‘तिर्खाएको बेला पानी पिउन नपाउँदाको छटपटी मैले महुसस गरेको छु,’ उनले भने, ‘उहाँहरूको पीडा नै मेरो पीडा हो । त्यही सोचेर काम गरें । आज सफल पनि भएँ भन्ने लागेको छ ।’

प्रकाशित : चैत्र १७, २०७८ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?