२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सहकारीको रकम अपचलनमा पाँच दोषी

कपिलवस्तु — तौलिहवामा रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको करिब १२ करोड रुपैयाँ ठगी मुद्दामा पाँच जना दोषी ठहरिएका छन् । दुई वर्षदेखि जिल्ला अदालतमा चलेको ठगी तथा संगठित अपराध मुद्दामा ४५ जनाले सफाइ पाएका छन् । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाको इजलासले सोमबार तीन कर्मचारी र दुई बचत संकलनकर्तालाई कसुदार ठहर्‍याएको हो ।

सहकारी व्यवस्थापक अभिनाशदेव पाण्डेय, पूर्वव्यवस्थापक निलाभचन्द्रदेव पाण्डेय, कर्मचारी राजेश कान्दु र बचत संकलनकर्ताद्वय श्रवणकुमार गुप्ता तेली र सुन्दरकेशव गुप्तालाई अदालतले कसुरदार ठहर्‍याएको छ । कसुरदार ठहरिएका पाँच जनालाई ३० दिनभित्र सजाय निर्धारण गरिने फैसलामा उल्लेख छ । राजेश, श्रवण र अभिनाश अदालतको आदेशमा यसअघि नै पुर्पक्षका लागि थुनामा थिए । मुद्दामा यसअघि पुर्पक्षका लाथि थुनामा रहेका कर्मचारी राकेशकुमार ठाकुरले भने सफाइ पाएका छन् । यस्तै फरार प्रतिवादीहरू लक्ष्मी आचार्य, सुनिता अग्रहरि र विनीता न्यौपानेको हकमा भने मुद्दा मुल्तबीमा राख्ने आदेश भएको श्रेस्तेदार सुमन पाण्डेले बताए ।

तीनै जना विदेश भएकाले अदालतमा हाजिर हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ । पदाधिकारीहरूको हकमा सहकारी संस्थाको रकम हिनामिना गरे भन्ने बादीको अभियोग पुग्न नसक्ने ठहर गरिएको छ । अदालतमा ०७६ पुस १२ मा सहकारीका पदाधिकारी र कर्मचारी गरी ५३ जनाविरुद्ध ११ करोड ९९ लाख रुपैयाँ ठगी भएको भन्दै ठगी तथा संगठित अपराध मुद्दा चलेको थियो ।

प्रकाशित : चैत्र १७, २०७८ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?